९ जेठ, काठमाडौं । सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गर्दै संसद अवरोध गर्दै आएको नेपाली कांग्रेसले अब सडक आन्दोलन पनि गर्ने भएको छ ।
बुधबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारविरुद्ध सडक प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नताका विषयमा छानबिनका लागि संसदीय समिति गठन गर्ने मागमा सरकार गम्भीर नभएको कांग्रेसको ठहर छ ।त्यसविरुद्ध कांग्रेसले आगामी आइतबार अर्थात १३ जेठमा काठमाडौंमा सडक प्रदर्शन राखेको छ ।
गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन, गृहमन्त्री लामिछानेले कांग्रेस नेताहरुमाथि लगाएको आरोपको विरोध, सहकारीका बचतकर्ताको वचत फिर्ता, गिरीबन्धु टी इस्टेटको जग्गा घोटाला लगायतका विषय उठाएर सडक प्रदर्शन गर्ने नेताहरुले बताएका छन् ।बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा महामन्त्री गगन थापाले कांग्रेसले संसदमा खेलिरहेको भूमिका र संसदीय दलमा भएका छलफल बारे जानकारी गराएका थिए ।
प्रमुख सचेतक रमेश लेखकले कांग्रेसले जायज माग उठाउँदा पनि सत्तापक्षले अटेरी गरेको बताए ।कांग्रेस बैठकमा आगामी शुक्रबार प्रदर्शन गर्नेबारे छलफल भएको थियो । तर उपत्यकाका तीन जिल्ला सभापतिले शुक्रबारलाई तयारी अपुग हुने सुझाव दिएका थिए ।
प्रवक्ता डा. महतले सहकारीको रकम अपचलनको विषय उठाएर पीडितको पक्षमा सडक आन्दोलन गर्ने निर्णय भएको बताए । ‘सहकारीको रकम अपचलनको छानबिन हुनुपर्दछ । सुरक्षा निकायबाट छानबिन नहुने भयो’, महतले भने ।
प्रतिक्रिया दिनुहोस्