सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ भदौ ७ गते आइतबार

पाँचतारा र वर्ल्ड भिजनद्वारा रिसाङ पहिरो प्रभावितलाई ११६ बोरा चामलसहित खाद्यान्न राहत



जाजरकोट, भदौ ४ । जाजरकोटको भेरी नगरपालिका – २, रिसाङका पहिरो प्रभावित परिवारलाई पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र वर्ल्ड भिजन इन्टरनेशनल नेपालले ११६ बोरा मन्सुली मसिनो चामलसहित खाद्यान्न राहत उपलब्ध गराएका छन् ।
लगातारको वर्षाका कारण भेरी नगरपालिका १ देखि ४ सम्म विभिन्न स्थानमा गएको पहिरोबाट प्रभावित परिवारका लागि उपलब्ध गराइएको राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समिति र भेरी नगरपालिकालाई हस्तान्तरण गरिएको हो। हस्तान्तरण गरिएको चामलसहितका खाद्यान्न सामग्री नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा प्रभावित परिवारका घर तथा आश्रयस्थलसम्म पुर्‍याइएको थियोन ।
राहत प्याकेजमा ११६ बोरा चामलसँगै ९४ केजी दाल, ८३ लिटर तोरीको तेल, ५५ केजी चिनी, ११० केजी आलु र ५५ केजी नुन रहेको छ। राहत सामग्रीको कुल लागत २ लाख ५७ हजार ४०५ रुपैयाँ रहेको पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका अध्यक्ष छवि पन्तले जानकारी दिनुभयो ।


गत १५ अगस्ट २०२६ देखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–१ देखि ४ सम्मका विभिन्न क्षेत्रमा पहिरो गएको थियो। पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी स्थानीय बासिन्दा घर छोड्न बाध्य भएका छन्ब। जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा प्राप्त विवरणअनुसार हाल करिब ७०० जना प्रभावित चार वटा अस्थायी आश्रयस्थलमा बसोबास गरिरहेका छन् ।
प्रभावित परिवारलाई करिब एक हप्तासम्म पुग्ने गरी खाद्यान्न सहयोग गरिएको हो। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले प्रभावितको संख्या प्रारम्भिक अनुमानभन्दा बढी रहेको जनाएको छ। सोहीअनुसार राहत सामग्री विजय प्रावि, स्याला; महिला सुरक्षित आश्रयस्थल, थाप्ले; त्रिभुवन आधारभूत विद्यालय, रिसाङ; र विष्णु प्रावि, दार्नेटामा वितरण गरिने भएको छ ।


विपद्को समयमा तत्काल खाद्यान्न आवश्यक रहेका प्रभावित परिवारलाई राहत उपलब्ध गराउन पाँचतारा युवा संरक्षक मञ्च र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा जिल्ला विपद् व्यवस्थापन समिति, भेरी नगरपालिका, नेपाली सेना र सशस्त्र प्रहरीको समन्वयले महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ ।

प्रकाशित मिति : २०८३ भदौ ४ गते बिहीबार