सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ भदौ ७ गते आइतबार

जाजरकोटमा पाँचतारा युवा संरक्षक मञ्चका परियोजनाको प्रगति समीक्षा बैठक, पत्रकारसँग अन्तरक्रिया



जाजरकोट । पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटद्वारा सञ्चालित विभिन्न परियोजनाअन्तर्गत आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न तथा सञ्चालन भइरहेका कार्यक्रम र गतिविधिको प्रगति समीक्षा तथा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम पाँचतारा युवा संरक्षक मञ्चको हलमा साउ २७ बुधबार जिल्लामा क्रियाशील विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सन् २०२६ मा सञ्चालनमा रहेका विभिन्न परियोजनाका प्रमुखहरूले आ- आफ्ना परियोजनाअन्तर्गत भएका गतिविधि, प्राप्त उपलब्धि, सिकाइ तथा समुदायमा परेको प्रभावबारे पत्रकारहरूलाई जानकारी गराएका थिए । परियोजनाका गतिविधि र उपलब्धिबारे जानकारी दिँदै आगामी दिनमा गर्नुपर्ने काम तथा चुनौतीका विषयमा समेत छलफल गरिएको थियो ।
मञ्चमार्फत सञ्चालन भइरहेका परियोजनाअन्तर्गत बाल संरक्षण, समावेशी शिक्षा, बालअधिकार तथा सुशासन, खानेपानी तथा सरसफाइ, स्वास्थ्य तथा पोषण, उद्यमशीलता तथा जीविकोपार्जन, विपद् जोखिम न्यूनीकरण, मातृ तथा नवजात स्वास्थ्य, सामाजिक न्याय र अपाङ्गता समावेशीकरण लगायतका क्षेत्रमा काम भइरहेको जानकारी दिइएको थियो ।

परियोजनाको कार्यक्षेत्र नलगाड नगरपालिका वडा नं. १ देखि ७ तथा भेरी नगरपालिका वडा नं. ५ देखि १२ सम्म रहेको छ । परियोजनाको अवधि १ अक्टोबर २०२५ देखि ३० सेप्टेम्बर २०२६ सम्म परियोजना बजेट वार्षिक करिब ९ करोड ३८ लाख ८० हजार ७ सय ३ रुपैयाँ २७ रुपैयाँ रहेको जनाइएको छ ।

परियोजनाले जोखिममा रहेका बालबालिका तथा परिवार, महिला, दलित तथा जनजाति समुदाय, युवा र अन्य जोखिममा रहेका समुदायलाई लक्षित गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताइएको छ। विद्यालय तथा समुदायमा पढाइ सीप सुधार, बालमैत्री तथा अपाङ्गतामैत्री संरचना निर्माण, डिजिटल शिक्षामा सहयोग, शिक्षकको क्षमता विकास, बाल क्लब गठन, परिवार तथा समुदायमा सचेतना अभिवृद्धि र बाल संरक्षणसम्बन्धी गतिविधि सञ्चालन भइरहेका छन् ।
कार्यक्रममा पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवि पन्तले मञ्चले सञ्चालन गरेका कार्यक्रम तथा परियोजना कुनै व्यक्ति वा संस्थाको मात्र नभई समग्र जिल्लावासीको हितसँग जोडिएको काम भएको बताउनुभयो ।
उहाँले समाजका लागि काम गर्दा निःस्वार्थ भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै भूकम्पपछि जाजरकोटमा ठूला परियोजनाहरू पर्याप्त रूपमा आउन नसकेको अवस्थामा पाँचतारा युवा संरक्षक मञ्चले समुदायसँग जोडिएर निरन्तर काम गरिरहेको बताउनुभयो ।
अध्यक्ष पन्तले मञ्च करिब ५०/६० हजार मानिससँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएर सामाजिक क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै जिल्लाको विकास, सामाजिक रूपान्तरण तथा समुदायका सवाललाई प्रभावकारी रूपमा उठाउन सञ्चारमाध्यमसँगको समन्वय र सहकार्यलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले पत्रकार तथा सञ्चारमाध्यमसँग सहकार्य गर्दै समुदायमा भइरहेका सकारात्मक काम, नागरिकका सवाल तथा विकासका विषयलाई थप प्रभावकारी रूपमा बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी पत्रकारहरूले परियोजनाका गतिविधि, उपलब्धि, प्रभाव, पारदर्शिता तथा जवाफदेहिताका विषयमा जिज्ञासा राखेका थिए। पत्रकारहरूले परियोजनाबाट समुदायमा परेको प्रभाव र आगामी योजनाबारे जानकारी लिँदै सकारात्मक काम तथा सरोकारका विषयलाई सञ्चारमाध्यममार्फत उजागर गर्न सहकार्य गर्ने बताएका थिए ।
पाँचतारा युवा संरक्षक मञ्चले आगामी दिनमा स्थानीय सरकार, समुदाय, सञ्चारमाध्यम तथा अन्य सरोकारवाला निकायसँगको समन्वय र सहकार्यलाई प्राथमिकतामा राख्दै बालबालिका, युवा तथा जोखिममा रहेका समुदायको हितमा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहीबार