सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ भदौ ७ गते आइतबार

जाजरकोटमा पहिरो ७ जना घाइते, २ जना सम्पर्कविहीन



जाजरकोटमा पहिरो : ७ जना घाइते, २ जना सम्पर्कविही

जाजरकोट ।  अविरल वर्षापछि भेरी नगरपालिका – २ रिसाङ क्षेत्रका विभिन्न स्थानमा पहिरो जाँदा ७ जना घाइते भएका छन् भने २ जना सम्पर्कविहीन भएका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। घाइतेहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ भने गम्भीर घाइतेमध्ये केहीलाई थप उपचारका लागि नेपालगञ्ज र सुर्खेत रिफर गरिएको छ ।

पहिरोले भेरी नगरपालिका – ३ स्यालाका पूर्णबहादुर विकको ६ कोठे दुईतले कच्ची घर पूर्ण रूपमा क्षति गरेको छ। घरमा रहेका पाँच जनाको परिवार आफन्तको घरमा आश्रय लिएर बसेको प्रहरीले जनाएको छ । यस्तै, सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा क्षति भएका छन् ।

पहिरोका कारण भेरी–२ रिसाङकी करिब ५४ वर्षीया उमासिंह खत्री र चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार तथा खोजीका लागि खटिएको छ। पहिरोका कारण सडक अवरुद्ध भएकाले सुरक्षाकर्मीहरू पैदलै घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको थप विवरण तथा क्षतिको यकिन विवरण संकलन भइरहेको छ ।

प्रकाशित मिति : २०८३ साउन ३० गते शनिबार