सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ भदौ ७ गते आइतबार

जाजरकोटमा अविरल वर्षापछि तासुघाट खोलामा बाढी, चार घरसहित झोलुङ्गे पुल बगायो



जाजरकोट ।  अविरल वर्षाका कारण जाजरकोटको नलगाड नगरपालिका–१० तासुघाट खोलामा पानीको बहाव बढ्दा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि उक्त क्षेत्रमा तत्कालका लागि वैकल्पिक बाटोसमेत नभएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण नलगाड – १० रोलीस्थित तासुघाट खोलामा रहेको झोलुङ्गे पुलको पश्चिमतर्फको भागसमेत बगाएको छ। पुल बगाएपछि घटनास्थलमा प्रहरी टोली पुग्नसमेत कठिनाइ भएको जनाइएको छ ।
घटनाबारे शुक्रबार बिहान ६ः३० बजे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक दिनेश सुनारको कमाण्डमा ४ जनाको प्रहरी टोली घटनास्थलतर्फ पठाइएको थियो । तर झोलुङ्गे पुल बगिसकेका कारण टोली घटनास्थलसम्म पुग्न नसकेको प्रहरीले जनाएको छ ।
रोलीमा स्थानीय पृथ्वीबहादुर विकको दुईतले ढुंगा – माटोले बनेको ढुंगाले छाएको घर बगेको छ , घरमा रहेका ९ जना परिवारका सदस्यहरू भने सुरक्षित स्थानमा बसेका छन् ।
त्यस्तै, खैते विकको दुईतले ढुंगा – माटोले बनेको ढुंगाले छाएको घरमा क्षति पुगेको तथा १० जना परिवारका सदस्य सुरक्षित स्थानमा रहेको जनाइएको छ । नरबहादुर विकको तीनतले ढुंगा – माटोले बनेको ढुंगाले छाएको घरमा समेत क्षति पुगेको र १० जना परिवारका सदस्य सुरक्षित स्थानमा रहेको प्रहरीले जनाएको छ।
हस्तबहादुर विकको दुईतले ढुंगा – माटोले बनेको टिनले छाएको घरमा पनि क्षति पुगेको छ। उक्त घरमा रहेका ८ जना परिवारका सदस्य सुरक्षित स्थानमा रहेको बताइएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय रग्दाबाट करिब १ किलोमिटर पश्चिमतर्फ पर्ने जनाइएको छ। क्षतिको यकिन विवरण भने प्रहरी टोली घटनास्थलमा पुगेर स्थलगत निरीक्षण गरेपछि मात्र आउने  जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रबार