जाजरकोट । पहिरोको जोखिममा रहेका भेरी नगरपालिका – २ रिसाङ्ग र वडा नं. ३ स्यालाका ३० घरधुरीलाई करिब ५ लाख ३४ हजार रुपैयाँ बराबरको राहत तथा अस्थायी आवास सामग्री वितरण गरिएको छ ।
पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा भेरी नगरपालिका–२ रिसाङ्गका १५ र वडा नं. ३ स्यालाका १५ गरी जम्मा ३० घरधुरीलाई राहत सामग्री वितरण गरिएको हो ।
राहत सामग्रीमा त्रिपाल, भाँडाकुँडा, सरसफाइका सामग्री, ब्ल्याङ्केट लगायत अस्थायी बसोबासका लागि आवश्यक सामग्री रहेका छन् । वर्षाका कारण घर तथा बस्ती जोखिममा परेका परिवारलाई तत्काल अस्थायी आवास व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको पाँचतारा युवा संरक्षण मञ्चका अध्यक्ष छवि पन्तले बताउनु भएको छ ।
यसै बीच, २०८३ साल साउन ३० गतेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–१, २, ३ र ४ लगायतका क्षेत्रमा बाढी तथा पहिरो गएको छ । प्रारम्भिक विवरण अनुसार विपद्का कारण ४ जनाको मृत्यु, २५ घरधुरीका मानिस घाइते तथा करिब ३ सय घरधुरी प्रभावित भएको जनाइएको छ । पहिरो प्रभावित बस्तिहरुमा खाद्यन्न, सुरक्षित बासस्थान र खाने पानी औषधी उपचारको सहित दैनिकी अत्यवस्यक ब्यवस्थानको समस्या परेको छ ।
प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम जारी रहेको छ । जिल्ला विपद् व्यवस्थापन समिति, जाजरकोटले प्रभावित परिवारका लागि तत्काल अस्थायी आवास तथा राहत व्यवस्थापन गर्न आह्वान गरेको छ ।
बाढी तथा पहिरोका कारण प्रभावित परिवारलाई थप राहत, उद्धार तथा अस्थायी आवास व्यवस्थापनका लागि सम्बन्धित निकाय, स्थानीय तह तथा सहयोगी संस्थाहरूले समन्वय गरी काम गरिरहेका छन् ।



































प्रतिक्रिया दिनुहोस्