सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ भदौ ७ गते आइतबार

जाजरकोटमा जिल्ला परियोजना सल्लाहकार समिति बैठक सम्पन्न



जाजरकोट । जिल्ला परियोजना सल्लाहकार समितिको अनुगमन तथा समीक्षा बैठक जाजरकोटमा सम्पन्न भएको छ । पाँचतारा युवा संरक्षक मञ्चद्वारा सञ्चालित परियोजनाका हालसम्मका गतिविधि, उपलब्धि, सम्पन्न कामको समीक्षा तथा आगामी कार्यदिशाका विषयमा बैठकमा छलफल गरिएको हो ।
जिल्ला समन्वय समिति जाजरकोटका उपप्रमुख तथा जिल्ला परियोजना सल्लाहकार समितिका संयोजक दल बहादुर सिंहको अध्यक्षतामा सम्पन्न बैठकमा परियोजनाअन्तर्गत सञ्चालित विभिन्न कार्यक्रमको प्रगति तथा उपलब्धिको समीक्षा गरिएको थियो ।


बैठकमा पाँचतारा युवा संरक्षक मञ्चले सञ्चालन गरेका परियोजनाका गतिविधि तथा उपलब्धिबारे सम्बन्धित प्रतिनिधिहरूले प्रस्तुतीकरण गरेका थिए। साथै, २०८३ साल साउन २८ गते गरिएको अनुगमनका क्रममा प्राप्त विवरण तथा सुझाव समेत बैठकमा प्रस्तुत गरिएको थियो ।
त्यसैगरी शिक्षा, स्वास्थ्य, बाल संरक्षण, विपद् जोखिम न्यूनीकरण तथा समुदायको जीविकोपार्जनसँग सम्बन्धित गतिविधिको समीक्षा गरिएको थियो। भेरी नगरपालिका र नलगाड नगरपालिकामा सम्पन्न शिक्षण अनुगमनसम्बन्धी कार्यक्रमको संक्षिप्त प्रतिवेदन पनि बैठकमा प्रस्तुत गरिएको थियो ।


बैठकमा सम्पन्न गतिविधिको समीक्षा गर्दै आगामी यात्रालाई थप प्रभावकारी बनाउन आवश्यक सुझाव, सुधारका क्षेत्र तथा मार्गदर्शन प्राप्त गर्ने उद्देश्यले सरोकारवालाबीच छलफल गरिएको थियो। सहभागीहरूले परियोजनाका गतिविधिलाई प्रभावकारी र परिणाममुखी बनाउन सम्बन्धित निकायबीच समन्वय, सहकार्य र निरन्तर अनुगमन आवश्यक रहेकोमा जोड दिएका थिए ।
महत्वपूर्ण सहभागिताका बीच सम्पन्न बैठकले आगामी दिनमा प्राप्त सुझाव तथा मार्गदर्शनलाई कार्यान्वयन गर्दै परियोजनाका गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने निष्कर्ष निकालेको छ ।
पाँचतारा युवा संरक्षक मञ्चले जाजरकोटमा बालबालिका, शिक्षा, स्वास्थ्य, संरक्षण, जीविकोपार्जन तथा सामाजिक सशक्तीकरणलगायतका क्षेत्रमा विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २०८३ साउन ३० गते शनिबार