सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८२ असोज ३ गते शुक्रबार

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड



जेठ ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा केही भएन भन्ने निराशा त्याग्न आमजनतालाई आग्रह गरेका छन्।

बागलुङ बजारमा आज आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपाल समृद्ध उन्मुख दिशामा अघि बढिरहेको उल्लेख गरे। उनले स्थानीय उत्पादन, घरेलु उद्योग र आत्मनिर्भर कृषि प्रणालीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।

‘हामीले बनाएको मध्यपहाडी लोकमार्गले यहाँका जनतालाई आर्थिक समृद्धिसँग जोडेको छ,’ भन्दै उनले विकासको मूल बाटो यही हो भन्ने विश्वास व्यक्त गरे।
प्रचण्डले आफूले प्रस्ताव गरेको पुष्पलाल मध्यपहाडी लोकमार्ग छिट्टै सम्पन्न हुनुपर्ने आवश्यकता औंल्याए। साथै, उनले भ्रष्टाचार निर्मूल पार्न सकस भए पनि निरन्तर प्रयास गर्नु आवश्यक रहेको धारणा राखे।

कार्यक्रमको क्रममा उनले देशप्रतिको नकारात्मक दृष्टिकोण परिवर्तन गर्नुपर्ने, आशावादी सोच र सामूहिक प्रयासबाट मात्र समृद्ध नेपालको सपना साकार हुन सक्ने बताए।

प्रकाशित मिति : २०८२ जेठ ९ गते शुक्रबार