सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ भदौ ७ गते आइतबार

पाँचतारा र सेभ द चिल्ड्रेनद्वारा रिसाङका २०० घरधुरीलाई २४ लाख बराबरको गैरखाद्य सामग्री वितरण



जाजरकोट । जाजरकोटको भेरी नगरपालिका – २, रिसाङका पहिरो प्रभावित २०० घरधुरीलाई पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र सेभ द चिल्ड्रेनले करिब २४ लाख रुपैयाँ बराबरको गैरखाद्य तथा अत्यावश्यक सामग्री वितरण गरेका छन् ।
श्रावण ३० गते लगातारको वर्षाका कारण आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई त्रिपाल, भाँडाकुँडा, सरसफाइ सामग्री, बाल्टी, जग, सानो ब्ल्याङ्केट तथा बालबालिकाका लागि कपडासहितको राहत प्याकेज वितरण गरिएको हो ।
पहिरो गएको भोलिपल्टै ३० घरधुरीलाई तत्काल राहत सामग्री उपलब्ध गराइएको थियो। त्यसपछि जिल्ला विपद् व्यवस्थापन समिति र भेरी नगरपालिकाको निर्णयअनुसार भदौ ६ गते थप २०० घरधुरीलाई राहत सामग्री वितरण गरिएको पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका अध्यक्ष छवि पन्तले जानकारी दिनुभयो ।
लगातारको वर्षाका कारण भेरी नगरपालिका १ देखि ४ सम्मका विभिन्न स्थानमा बाढी तथा पहिरो गएको थियो। पहिरो प्रभावित तथा जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा राख्न विभिन्न स्थानमा अस्थायी आश्रयस्थलसमेत सञ्चालन गरिएको छ ।


भेरी नगरपालिका – २ स्थित विजय प्राथमिक विद्यालय, स्याला, महिला सुरक्षित आश्रयस्थल, थाप्ले, त्रिभुवन आधारभूत विद्यालय, रिसाङ र विष्णु प्राथमिक विद्यालय, दार्नेटामा प्रभावित परिवारलाई राखिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिनुभयो ।
नगरप्रमुख घर्तीका अनुसार प्रभावित परिवारलाई अस्थायी आवाससँगै त्रिपाल, भाँडाकुँडा, सरसफाइ सामग्री तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउँदा विपद्को तत्कालीन अवस्थामा ठूलो सहयोग पुगेको छ । 

बाढी तथा पहिरोबाट विस्थापित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउँदै सुरक्षित आवास तथा आधारभूत आवश्यकताको व्यवस्थापनमा स्थानीय सरकार, विभिन्न संघसंस्था र सहयोगी निकायबीच समन्वय भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २०८३ भदौ ६ गते शनिबार