टी ट्वान्टी विश्वकप क्रिकेटमा बङ्गलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । टस जितेर नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको बङ्गलादेश ३ बल बाँकी हुँदै १०६ रनमा अलआउट भयो ।
नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र सन्दीप लामिछानेले दुई दुई विकेट लिनुभयो ।
सोमपालले ३ ओभरमा १०, रोहितले ४ ओभरमा २०, सन्दीपले ४ ओभरमा १७ र दीपेन्द्रले ३ ओभर ३ बलमा २२ रन दिनुभयो ।
सोमपालले पहिलो बलमै तान्जिद हसनलाई आउट गर्दै नेपाललाई सुखद सुरूवात गराउनुभयाे । दोस्रो ओभरमा दीपेन्द्रसिंह ऐरीले नजमुल हसनलाई ४ रनमा बोल्ड गरे पछि नेपालले सुरुबाटै दबाब बढाएको थियो । सोमपालले पाँचौँ ओभरमा लिट्टन दासलाई आउट गर्नुभयो ।
पावर प्लेको अन्तिम ओभरमा कप्तान रोहित पौडेलले तोवहिद हृदयको विकेट लिएसँगै बंगलादेश पावर प्लेमा ३१–४ को कमजोर अवस्थामा पुगेको थियो ।
रोहितले भेट्रान अलराउन्डर शकिब अल हसनलाई १७ रनमा एलबीडब्लु धरापमा पर्नु अघि मोहमदुल्लाह रन आउट भइसक्नुभएको थियो ।
सन्दीप लामिछानेले २ विकेट लिँदै बंगलादेशलाई लगातार दबाबमा मात्र राख्नुभएन ट्वान्टी-२० अन्तर्राष्ट्रियमा १ सय विकेट लिने पहिलो नेपाली खेलाडी पनि बन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्