सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ कात्तिक ११ गते मंगलबार

कर्णालीका १० जिल्लामध्ये जाजरकोट प्रहरी उत्कृष्ट



जाजरकोट । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा जिल्ला प्रहरी कार्यालय जाजरकोट कर्णाली प्रदेशका १० जिल्ला प्रहरी कार्यालयमध्ये उत्कृष्ट घोषित हुँदै सम्मानित भएको छ । आर्थिक वर्ष २०८२/०८३ को कार्यसम्पादन सम्झौताअन्तर्गत उत्कृष्ट छनोट भएपछि कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा ७१ औं प्रहरी दिवस २०८३” को अवसरमा यस कार्यालयलाई उत्कृष्ट पुरस्कारद्वारा सम्मानित गरिएको छ ।

प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय जाजरकोटको प्राङ्गणमा कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक बुद्धिसागर पुरीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी नवराज बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा अमर प्रहरीको सम्झनामा शोक सलामी, मौनधारण तथा प्रहरी स्मारकमा पुष्पहार अर्पण गरिएको थियो । साथै, उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बराल र पूर्व प्रहरी नायव निरीक्षक नरेन्द्र विक्रम शाही लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, पत्रकार, अमर प्रहरीका परिवारजन, पूर्व प्रहरी कर्मचारी तथा प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।

यसै अवसरमा पूर्व प्रहरी कर्मचारीहरूसँग पुनर्मिलन तथा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा उनीहरूका समस्या तथा गुनासाबारे छलफल गर्दै बडादसैँ, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रबार