जाजरकोट । एम्नेस्टी इन्टरनेसनल जाजरकोट ग्रुपले बडादसैँ तथा शुभ दीपावलीको पूर्वसन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। ग्रुपका संयोजक बालकुमार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष, पूर्वपदाधिकारी, वर्तमान सल्लाहकार समिति तथा कार्यसमितिका सदस्यहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार समितिका सदस्यहरू हरि बहादुर बस्नेत र ललितराज भण्डारीको उपस्थिति रहेको थियो । त्यस्तै, वर्तमान कार्यसमितिका सहसंयोजक कल्पना मल्ल, सचिव मुकुन्दप्रसाद शर्मा, सहसचिव शारदा पुन मगर, सदस्यहरू दिवाकर शर्मा, शान्त बहादुर बस्नेत, अमर बहादुर शाह, रोशना कुमारी सिंह, लिला पौडेललगायतको सहभागिता रहेको थियो ।

एम्नेस्टी इन्टरनेसनल जाजरकोट ग्रुपको नयाँ कार्यसमिति गठनपछिको दोस्रो बैठकका रूपमा समेत रहेको उक्त कार्यक्रममा दसैँ तथा दीपावलीको शुभकामना आदानप्रदानसँगै जिल्लामा मानव अधिकारको अवस्था र संस्थाले आगामी दिनमा गर्नुपर्ने कामका विषयमा छलफल गरिएको थियो ।
बैठकमा जाजरकोट जिल्लाका भूकम्प प्रभावित तथा बाढीपहिरो प्रभावित नागरिकको मानव अधिकार संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराउने कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो। प्रभावित नागरिकका समस्या समाधान, उनीहरूको अधिकार सुनिश्चितता तथा राज्यका सम्बन्धित निकायलाई जवाफदेही बनाउन निरन्तर खबरदारी, पैरवी र मानव अधिकार प्रवर्द्धनसम्बन्धी गतिविधि अघि बढाउनुपर्ने सहभागीहरूको भनाइ थियो ।
त्यसैगरी, एम्नेस्टी इन्टरनेसनल जाजरकोट ग्रुपले गर्दै आएका गतिविधि र मानव अधिकारसम्बन्धी कामका बारेमा आम नागरिकलाई जानकारी गराउन आवश्यक रहेको विषयमा पनि छलफल भएको थियो। संस्थाका गतिविधिलाई समुदायस्तरसम्म पुर्याउँदै मानव अधिकारप्रति नागरिकको सचेतना अभिवृद्धि गर्न सरोकारवालासँगको सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए
आगामी वर्षमा पनि मानव अधिकार संरक्षण तथा प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिँदै सरोकारवाला निकायसँग समन्वय र सहकार्य विस्तार गर्ने विषयमा छलफल गरिएको ग्रुपले जनाएको छ ।

कार्यक्रममा सहभागीहरूले बडादसैँ तथा शुभ दीपावलीको अवसरमा जिल्लावासी, भूकम्प तथा बाढीपहिरो प्रभावित नागरिकलगायत सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सु-स्वास्थ्यको शुभकामना व्यक्त गरेका थिए ।































प्रतिक्रिया दिनुहोस्