सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ कात्तिक ११ गते मंगलबार

जाजरकोटमा जिप दुर्घटना : दुईको मृत्यु, तीन घाइते



जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ गैरीगुवामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बुधबार बिहान करिब २ बजे सुर्खेतबाट जुनिचाँदे गाउँपालिकातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको हो।
दुर्घटनामा जिप चालक जुनिचाँदे गाउँपालिका–९ कल्ली स्यालाका करिब २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका–३ स्यालाकी करिब ३० वर्षीया विपना भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

दुर्घटनामा विपनाका श्रीमान् करिब ३० वर्षीय दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा शिशिर भण्डारी र सोही वडाकी करिब ५० वर्षीया सितला टमटा घाइते भएका छन्।
घाइते तीनै जनाको अवस्था मध्यम रहेको र थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत लैजाँदै गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज २९ गते बिहीबार