भारत । नयाँ दिल्ली – जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का उपाध्यक्ष राजीव शुक्लाले भारतले पाकिस्तानसँग कुनै पनि द्विपक्षीय क्रिकेट शृङ्खला नखेल्ने स्पष्ट पारेका छन्।
शुक्लाले भारतीय सञ्चारमाध्यम सँग कुरा गर्दै आफूहरू पीडितसँगै रहेको र भारत सरकारको नीतिअनुसार पाकिस्तानसँग द्विपक्षीय खेल सम्भव नरहेको बताएका हुन्। तर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को प्रतियोगितामा भने भारतले पाकिस्तानसँग खेल्ने उनको भनाइ छ। “आईसीसीलाई पहलगाम घटनाबारे जानकारी छ, अब उसैले निर्णय लिन्छ,” शुक्लाले बताएका छन्।
भारत र पाकिस्तानबीच अन्तिमपटक सन् २०१२–२०१३ मा सीमित ओभरको द्विपक्षीय शृङ्खला खेलिएको थियो। त्यतिबेला पाकिस्तान टोली भारत आएको थियो। भारतले अन्तिमपटक सन् २००८ को एशिया कपका लागि पाकिस्तान भ्रमण गरेको थियो भने द्विपक्षीय खेलका लागि सन् २००५–०६ पछि भारतले पाकिस्तानको भ्रमण गरेको छैन।
मंगलवार पहलगाममा पर्यटक बोकेको बसमाथि भएको आक्रमणमा एक नेपालीसहित कम्तीमा २६ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनापछि भारत–पाकिस्तानबीचको क्रिकेट सम्बन्ध थप चिसिएको छ।



































प्रतिक्रिया दिनुहोस्