सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ जेठ ५ गते मंगलबार

सार्वजनिक गाडी नचल्दा आज पनि यात्रुलाई सास्ती (तस्वीरहरू)



काठमाण्डाै – यातायात व्यवसायीले आह्वान गरेको सार्वजनिक गाडी बन्दका कारण आज पनि सर्वसाधारण यात्रु मर्कामा परेका छन् । सार्वजनिक गाडी नभएपछि यात्रुहरूले पठाओ, इन्ड्राइभजस्ता राइड शेयरिङमा महँगाे मूल्य तिरेर यात्रु गर्नुपरेकाे गुनासाे गरेका छन् । साझा यातायातले भने बस सञ्चालन गरिरहेको छ । यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीले आज पनि २ वटा रुटमा निःशुल्क बस चलाएको छ ।

यसैबीच पोखराबाट चितवन तथा काठमाडौ आउने पर्यटकीय गाडीलाई आज पनि स्कर्टिङ गरिएको छ । २० पर्यटक गाडीमध्ये १७ वटा काठमाडौ र ३ वटा चितवनका लागि स्कर्टिङ गरिएको छ ।यसैगरी मुक्तिनाथ दर्शन गरी फर्किएका तीर्थयात्रीसहितको एउटा विद्युतीय भ्यान पनि स्कर्टिङमार्फत नै काठमाण्डाै ल्याइएको प्रहरीले जनाएको छ । गएराति सरकारसँग भएकाे सहमतिअनुसार यातायात व्यवसायीहरूले आज बिहानदेखि नियमित गाडी चलाउनुपर्ने भए पनि अहिलेसम्म चलाएका छैनन् । सरकार व्यवसायीसँग झुकेर सिन्डिकेट ब्युँत्याएको भन्दै विरोध भइरहे पनि व्यवसायीहरूले भने अझै सेवा सञ्चालन नगरेका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासङ्घका महासचिव भरत नेपाल सरकारले सहमत कार्यान्वयन गर्न बाँकी रहेकोले हडताल कायमै रहेको बताउनुहुन्छ । उहाँका अनुसार सङ्घीय सवारी तथा यातायात ऐनसँग बाझिएकाले राइड शेयरिङसम्बन्धी गण्डकी प्रदेशको नियमावली स्थगन गर्ने सहमति भएको छ । तर प्रदेशले स्थगन गर्न बाँकी रहेको हो । गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयले भने सङ्घ सरकारबाट पत्र प्राप्त भएपछि छलफल गर्ने तर सङ्घको अनुरोध नमान्न पनि स्वतन्त्र रहेको बताएको छ । यसैबीच सार्वजनिक यातायातमा भइरहेको हडतालविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आज अधिवक्ता विमल पोखरेलले दर्ता गर्नुभएको रिटमा भोलिका लागि पेशी तोकिएको छ ।

प्रकाशित मिति : २०८२ जेठ २० गते मंगलबार