सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ वैशाख १६ गते बुधबार

आईएनएफ नेपालद्वारा आगलागी पीडितलाई राहत वितरण



जाजरकोट , २०८३ वैशाख १० गते । जाजरकोट  दल्लीमा वैशाख ८ गते भएको आगलागीबाट प्रभावित नलगाड नगरपालिका वडा नं. २ सालघारीका सागर बि.क.को परिवारलाई आज आईएनएफ नेपाल, जाजरकोट शाखाले गैरखाद्य राहत सामग्री सहयोग गरेको छ।
नलगाड नगरपालिका वडा नं. २ का वडा अध्यक्ष तथा नलगाड नगरपालिकाको विपद् व्यवस्थापन शाखासँग समन्वय गरी करिब रु ८,३०० बराबरका ब्लान्केट, भाँडाकुडा, लत्ताकपडा तथा सरसफाइ सामग्री प्रभावित परिवारलाई वितरण गरिएको हो। उक्त राहत सामग्री नलगाड–७ दल्लीस्थित आईएनएफ नेपालको कार्यालय परिसरबाट घरधनी सागर बि.क.लाई हस्तान्तरण गरिएको थियो।
अचानक भएको आगलागीका कारण सागर बि.क.को घर पूर्ण रूपमा क्षति भएको छ भने घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्। हाल उनको पाँच सदस्यीय परिवार आफन्तको घरमा अस्थायी रूपमा बसोबास गरिरहेको छ।
आईएनएफ नेपालले भूकम्प पुनर्लाभ परियोजना अन्तर्गत विगत १८ महिनादेखि नलगाड नगरपालिका वडा नं. ४ मा जीविकोपार्जन सुधार, खानेपानी तथा सरसफाइ, सुरक्षित आवास निर्माण, पोषण सुधार, विपद् जोखिम न्यूनीकरण, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणजस्ता क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
पछिल्ला दिनहरूमा तापक्रम वृद्धि भएसँगै बनजंगलमा डढेलो तथा आगलागीका घटनाहरू बढ्दै गएकाले सबैले सचेत रहन, आवश्यक सावधानी अपनाउन र पूर्वतयारीका कार्यहरू गर्नुपर्ने देखिएको छ।

प्रकाशित मिति : २०८३ वैशाख १० गते बिहीबार