सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ जेठ ५ गते मंगलबार

मनसुन पूर्वतयारी तथा प्रतिकार्यको काम आजैदेखि सुरु भएको छः गृहमन्त्री लामिछाने



काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकारले मनसुनजन्य विपद् न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको स्थापना गरिएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपद् व्यवस्थापनका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको स्थापना गरेको जानकारी दिएका हुन् । उनले पोस्टले विपद्अघिको पूर्वतयारीदेखि विपद्पछि गर्नुपर्ने सबै प्रकारका कामहरु गर्ने बताए। उनले आजबाट सुरु हुनेगरी ११४९ नम्बरको टोल फ्रि नम्बरलाई असोज २९ गतेसम्मका लागि २४ घण्टा विपद्सम्बन्धी सूचना तथा जानकारी लिनका लागि खुला गरिएको पनि बताए ।

गृहमन्त्री लामिछानेले प्रधानमन्त्री दैविक सहायता कोष प्रदेश, जिल्ला र सबै स्थानीय तहका विपद् कोषहरुबाट गरी कुल ६ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ मौज्दात रहेको पनि बताए । उनले सो रकमको सही परिचालन गर्न सकेमा राहत, उद्धारको काम नागरिकलाई महसुस हुनेगरी गर्न सकिने बताए ।

प्रकाशित मिति : २०८१ जेठ २३ गते बुधबार