सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ जेठ १८ गते सोमबार

जाजरकोटमा वडा विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण सम्पन्न



जाजरकोट,जेठ १५ । भेरी नगरपालिकाको आयोजना तथा युनिसेफ नेपालको सहयोगमा वडा विपद् व्यवस्थापन समिति तथा स्वयंसेवकहरूका लागि जलवायु परिवर्तन, विपद् व्यवस्थापन तथा सामाजिक व्यवहार सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक एवं भेरी नगरपालिकाका विपद् शाखा प्रमुख यज्ञनाथ गौतम र बाल कल्याण अधिकारी सन्तोष कुमार पुनले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा वडा अध्यक्षहरू, वडा नं.- २ का अध्यक्ष भिम बहादुर कार्की, रेख बहादुर सिंह, वडा विपद् व्यवस्थापन समितिका सदस्यहरू तथा अन्य युवा भाइबहिनीहरूको सहभागिता रहेको थियो।

प्रशिक्षणका क्रममा विपद् र प्रकोप बीचको भिन्नता, बाढी-पहिरो जस्ता प्राकृतिक विपद्का प्रभाव, जलवायु परिवर्तनका कारण सिर्जित चुनौती तथा विपद् न्यूनीकरणका व्यावहारिक उपायहरू बारे जानकारी दिइएको थियो। साथै विपद् आउनुअघि अपनाइने सावधानी, पूर्वतयारी, सुरक्षित बसोबास, सूचना प्रवाह तथा समुदायको भूमिका बारे समेत प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा समुदायस्तर बाटै सचेतना र तयारी आवश्यक रहेकोमा जोड दिँदै विपद् आउनुअघि गरिने पूर्वतयारीले जनधनको क्षति न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइएको थियो। उक्त कार्यक्रमले स्थानीय स्तरमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्नुका साथै जलवायु परिवर्तन प्रति समुदायलाई थप सचेत बनाउन सहयोग पुगेको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८३ जेठ १४ गते बिहीबार