काठमाडौँ — चार दलीय सत्ता गठबन्धनले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा तालमेल गरेर उम्मेदवारी दिने सहमति गरेका छन् ।
सहमतिअनुसार राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने भएको छ भने उपाध्यक्षमा नेकपा एमालेले उम्मेदवारी दिने भएको छ ।
हाल राष्ट्रिय सभाको उपाध्यक्ष पद रिक्त छैन । माओवादी केन्द्रबाट निर्वाचित उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष छिन् । माओवादी केन्द्रले अर्याललाई राजीनामा गराएर अध्यक्ष लिने भएपछि उपाध्यक्षमा एमालेले उम्मेदवारी दिने भएको छ ।
यसअघि राष्ट्रिय सभाको अध्यक्षमा एमालेबाट निर्वाचित गणेशप्रसाद तिमिल्सिनाको आइतबार पदावधि सकिएको छ । गठबन्धनमा सहमतिपछि माओवादी केन्द्रले उपाध्यक्ष अर्याललाई राजीनामा गराएर अध्यक्षमा उम्मेदवारी दिने भएको हो ।
राष्ट्रिय सभामा अध्यक्ष र उपाध्यक्ष एकै दलबाट हुन नपाउने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्