सारदा मगर, जाजरकोट, ३ मंसिर । दलित विद्यार्थीहरूको शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जाजरकोटमा सरोकारवाला निकायबीच समन्वयात्मक अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) जिल्ला शाखा जाजरकोटको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा बिहीबार सदरमुकाम खलंगास्थित आरआर होटलको सभाहलमा गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि भेरी नगरपालिकाकी उपप्रमुख सीता जैसीले स्थानीय सरकारले ‘मेरो र तेरो’ नभनी कार्यविधिमा आधारित भएर निष्पक्ष रूपमा काम गरिरहेको बताउनुभयो । जोखिममा रहेका बालबालिकाका लागि नगरपालिकामा ‘आपतकालीन बाल उद्धार कोष’ रहेको जानकारी दिँदै उहाँले कोष परिचालनमा विगतमा केही कानुनी झन्झट र विवाद देखिए पनि अब एकीकृत कार्यविधि निर्माण गरेर कामलाई छिटोछरितो बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उपप्रमुख जैसीले शिक्षा क्षेत्रमा राज्यको लगानी कम भएको र शिक्षकलाई तलबबाहेक अन्य सेवा – सुविधाको व्यवस्था हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । विद्यार्थीहरूको शैक्षिक अवस्थाबारे चर्चा गर्दै उहाँले तल्लो कक्षामा राम्रो नतिजा ल्याउने विद्यार्थीहरूको शैक्षिक उपलब्धि माथिल्लो कक्षा हुँदै एसईई (SEE) सम्म पुग्दा खस्किने गरेको यथार्थ औँल्याउनुभयो ।
कार्यक्रमकी सभाध्यक्ष संघको जिल्ला शाखा जाजरकोटकी अध्यक्ष रति नेपालीले आफ्नो विगतको संघर्ष स्मरण गर्दै , आफूले बाल्यकालमा पढ्न नपाए पनि अहिले विपन्न तथा शिक्षाबाट वञ्चित दलित बालबालिकाको उज्ज्वल भविष्यका लागि काम गर्न पाउँदा खुसी र सन्तुष्टि मिलेको उहाँले बताउनुभयो । संस्थाले दलित बालबालिकाको हितमा सकारात्मक काम गरिरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने बताउनुभयो ।
गोष्ठीमा विष्णुहरि तिमल्सेना विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । जिल्ला कार्यक्रम अधिकृत कृष्ण तिरुवाले सञ्चालन गर्नुभएको कार्यक्रममा दलित विद्यार्थीको शिक्षामा पहुँचका क्षेत्रमा हालसम्म हासिल भएका मुख्य उपलब्धि, संस्थाका वार्षिक गतिविधि, संस्थागत जानकारी तथा प्रगति विवरण प्रस्तुत गरिएको थियो। साथै, कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका चुनौती र समाधानका उपायबारे छलफल गरिएको थियो ।
गोष्ठीका सहभागी वक्ताहरूले दलित बालबालिकाको शिक्षामा दिगो पहुँच विस्तार गर्न स्थानीय सरकार, गैरसरकारी संस्था तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय, सहकार्य र साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधि तथा स्थानीय पत्रकारहरूको उपस्थिति रहेको थियो ।
































प्रतिक्रिया दिनुहोस्