जाजरकोट । “बन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र समुदायको सहभागिता” भन्ने मूल नाराका साथ जाजरकोटमा बन डढेलो व्यवस्थापन सप्ताह–२०८२ सुरु भएको छ।
डिभिजन बन कार्यालय जाजरकोटको आयोजनामा आइतबारदेखि सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमअन्तर्गत आइतबार त्रिभुवन माध्यमिक विद्यालय तल्लो थाप्लेको सभाहलमा अग्नि नियन्त्रण सामग्री हस्तान्तरण तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रम सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा पाँच तारा युवा संरक्षक मञ्च जाजरकोटको सहकार्यमा आयोजना गरिएको हो। कार्यक्रममा बन डढेलोबाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक अग्नि नियन्त्रण सामग्री सम्बन्धित समूह तथा सरोकारवालाहरूलाई हस्तान्तरण गरिएको थियो।

साथै बन क्षेत्रमा हुने डढेलो नियन्त्रण, सावधानी अपनाउने उपाय तथा समुदायको सक्रिय सहभागिताबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सचेतनामूलक छलफलसमेत गरिएको आयोजकले जनाएको छ।
डिभिजन बन कार्यालयका अनुसार सप्ताहभर जिल्लाका विभिन्न स्थानमा सचेतना कार्यक्रम, अन्तरक्रिया तथा समुदायस्तरमा डढेलो नियन्त्रणसम्बन्धी गतिविधिहरू सञ्चालन गरिनेछ। कार्यक्रमले बन डढेलो नियन्त्रणमा स्थानीय समुदाय, सरोकारवाला निकाय तथा तीनै तहका सरकारबीच सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।





























प्रतिक्रिया दिनुहोस्