जाजरकोट । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सामुदायिक सरसफाइ तथा वातावरण संरक्षण अभियानलाई थप सुदृढ बनाउने उद्देश्यले ,जाजरकोट शाखाले रिम्ना बजार व्यवस्थापन समितिलाई डस्टबिन हस्तान्तरण गरेको छ। बजार क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्दै आयोजित कार्यक्रममा आवश्यक संख्यामा डस्टबिन उपलब्ध गराइएको हो।
हस्तान्तरण कार्यक्रममा अनुगमन अधिकृत तपेन्द्र साउद, शाखा प्रमुख मान बहादुर राना, बजार व्यवस्थापन समितिका अध्यक्ष दीपक परियार लगायत अन्य पदाधिकारी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै शाखा प्रमुख रानाले वित्तीय सेवा प्रवाहसँगै सामाजिक उत्तरदायित्वलाई संस्थाले प्राथमिकतामा राखेको उल्लेख गर्दै, बजार क्षेत्रलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन सबै पक्षको सक्रिय सहकार्य अपरिहार्य रहेको उनले बताए।
त्यसैगरी, बजार व्यवस्थापन समितिका अध्यक्ष परियारले संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै उपलब्ध डस्टबिनको प्रभावकारी प्रयोग तथा नियमित व्यवस्थापन गरिने प्रतिबद्धता जनाए। यस पहलले रिम्ना बजारलाई सफा, व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्न महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा स्थानीय व्यवसायी, सर्वसाधारण तथा विभिन्न सरोकारवाला निकायहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले सरसफाइलाई दैनिकी व्यवहारसँग जोड्दै ‘हाम्रो बजार, हाम्रो जिम्मेवारी’ भन्ने भावनासहित अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।
उक्त कार्यक्रमले वित्तीय संस्थाहरूले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायसँग सहकार्य गर्दै स्थानीय विकास, वातावरण संरक्षण तथा जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएको छ ।






























प्रतिक्रिया दिनुहोस्