जाजरकोट । भेरी नगरपालिका – १ पिपेमा बमजस्तै देखिने शंकास्पद वस्तु फेला परेपछि सुरक्षा व्यवस्थापन टोलीले सुरक्षित रूपमा निष्क्रिय (डिस्पोज) गरेको छ। उक्त वस्तु भेटिएपछि केही समय स्थानीय क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको थियो।
स्थानीय बासिन्दाले शंकास्पद वस्तु देखेपछि तत्काल सुरक्षाकर्मीलाई जानकारी गराएका थिए। सूचनापछि नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोली घटनास्थलमा पुगेर क्षेत्रलाई घेराबन्दी गरेको थियो। टोलीले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई सुरक्षित दूरीमा राखेको थियो।
सुरक्षा जाँचका क्रममा शंकास्पद वस्तुको माथिल्लो भागमा टाँसिएको एउटा कागज पनि फेला परेको प्रहरीले जनाएको छ। उक्त कागजमा “खतरा छ, नेपाल बन्द सफल पारौं। इमान्दारीसँग एक दिनको बन्दमा सवारी साधन बन्द गरौं। गो ब्याक, अगाडि खतरा छ। यो ३ ठाउँमा राखिएको छ। नेकपा बहुमत जाजरकोट भन्ने आशयको सन्देश लेखिएको थियो।
राजुप्रसाद पौडेलका अनुसार प्रारम्भिक जाँचका क्रममा उक्त वस्तु आधिकारिक बम नभएको पुष्टि भएको छ। उनले भने, “पिपेमा फेला परेको शंकास्पद वस्तु सुरक्षित रूपमा डिस्पोज गरिएको छ। जाँचका क्रममा त्यो वास्तविक बम नभएको खुलेको छ। हाल अवस्था सामान्य छ र सर्वसाधारणलाई नआत्तिन आग्रह गर्दछु।
घटनापछि सुरक्षाका कारण केही समय क्षेत्र खाली गराइए पनि अहिले आवतजावत सामान्य भइसकेको प्रशासनले जनाएको छ। उक्त कागज कसले, किन र कुन उद्देश्यले राखेको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।





























प्रतिक्रिया दिनुहोस्