
जाजरकोट । डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख अमरप्रसाद शाह माथी आइतबार कार्यकक्षमै कुटपिट भएको छ ।घटना बारे अहिलेसम्म पहिचान भएको छैन अनुसन्धानको क्रममा छ। कार्यालय समयमै ३–४ जना व्यक्ति कार्यकक्षभित्र पसेर दुर्व्यवहार गर्दै हातपात गरेका थिए।
प्रमुख शाहका अनुसार, “म सामान्य फाइल हेर्दै थिएँ, उनीहरू एकाएक पसेर कराउन थाले र मलाई थिच्दै कुट्न थाले।” घटनामा उनी सामान्य घाइते भएका छन्।
केही दिनअघि सार्वजनिक भएको एक भिडियोमा शाह कार्यालय परिसरमै मदिरा सेवन गरिरहेको देखिएपछि आलोचना भइरहेको थियो। सोही घटनाको प्रतिक्रिया स्वरूप आक्रमण भएको हुनसक्ने आशंका छ। शाहले भने, “भिडियो नियोजित रूपमा मेरो चरित्र हत्या गर्न बनाइएको हो। त्यो कार्यालय समय बाहिरको घटना हो। तर त्यसलाई लिएर कुटपिट गर्नु अपराध हो।”
जिल्ला प्रहरी कार्यालय जाजरकोटले घटनाबारे अनुसन्धान सुरु गरेको छ। सिसिटिभी फुटेज संकलन गरी विश्लेषण भइरहेको छ, चाँडै दोषी पहिचान गरी कारबाही अघि बढाइनेछ, प्रहरी स्रोतले जनाएको छ। यो घटनाले सरकारी कार्यालयभित्रको सुरक्षा र सार्वजनिक पदमा बसेका व्यक्तिहरू माथि भइरहेका आक्रमण प्रति गम्भीर प्रश्न उठाइएको छ।
प्रतिक्रिया दिनुहोस्