सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ साउन ११ गते सोमबार

नेपाली कांग्रेस जाजरकोटले असार २६ गते जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम गर्ने



बालकुमार शर्मा २१ असार / जाजरकोट, असार २४ – नेपाली कांग्रेस जिल्ला कार्य समिति जाजरकोटले यही असार २६ गते एक दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। नेपाली कांग्रेस प्रदेश नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, वीरेन्द्रनगर सुर्खेतको निर्देशनमा हुने उक्त कार्यक्रम नेपाली कांग्रेस जिल्ला प्रशिक्षण शाखा जाजरकोटले आयोजना गर्न लागेको हो।
कार्यवाहक सभापति खडक बहादुर वि.सीका अनुसार प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कार्यसमिति पदाधिकारी, महासमिति तथा महाधिवेशन प्रतिनिधि, प्रदेश सभा (क) र (ख) का पदाधिकारी एवं सदस्य, पार्टीका तर्फबाट निर्वाचित पालिकाका प्रमुख, उप–प्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरू साथै ती पदका उम्मेदवारहरू, भातृ संगठनका जिल्ला तहका पदाधिकारीहरू लगायतको सहभागीता हुनेछ।
कार्यक्रमका लागि प्रदेश र जिल्ला स्तरका टोलीहरू प्रशिक्षण व्यवस्थापनमा जुटेको वि.सीले जानकारी दिए। उनका अनुसार लामो समयपछि कांग्रेसले यति ठूलो र सांगठनिक रूपमा व्यवस्थित प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको हो।

उत्कृष्ट कार्यकर्तालाई सम्मान, नयाँ प्रवेश गर्नेहरुलाई स्वागत समेत गर्ने तयारी :

प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय वरिष्ठ नेता, राम्रो कार्यसम्पादन गरेका जनप्रतिनिधिहरू, पत्रकार, शुभेच्छुक संस्था तथा ट्रेड युनियन कांग्रेसअन्तर्गतका उत्कृष्ट पदाधिकारीहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ।
त्यस्तै, कांग्रेसमा आबद्ध हुन चाहने नयाँ सदस्यहरूलाई औपचारिक रूपमा स्वागत गर्ने कार्यक्रम पनि तय गरिएको छ।
कार्यक्रममा जिल्लाका साथै प्रदेश तथा स्थानीय तहका सबै नेताहरूलाई जानकारी गराइसकिएको र सहभागी नहुनेहरूको विवरण प्रदेशमा रेकर्ड हुने जानकारी वि.सीले दिए। विशेष गरी आगामी २०८४ को निर्वाचनमा उम्मेदवारी दिन चाहनेहरूका लागि भने अनिवार्य रूपमा प्रशिक्षण कार्यक्रममा सहभागी हुनु पर्ने निर्देशन पार्टीले दिएको छ। हेडलाईन नयाँ

प्रकाशित मिति : २०८२ असार २१ गते शनिबार