सुर्खेत ।
सुर्खेतको भेरीगंगा नगरपालिका–८ कुईरेमा रोपाइँको क्रममा चट्याङ लाग्दा एक युवकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। शुक्रबार स्थानीय बिर बहादुर थापाको खेतमा रोपाइँ गरिरहेका बेला चट्याङ परेको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको हो ।
घटनामा गम्भीर घाइते भएका २१ वर्षीय डिल बहादुर शाहीलाई तत्काल उपचारका लागि मेहलकुना अस्पताल लगिएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा घाइते हुने अन्य चार जनामध्ये १७ वर्षीय पर्वत बिक, १९ वर्षीय हुम बहादुर थापा, १८ वर्षीय नविन बिक र ३० वर्षीया सुनिता गिरी रहेका छन्। उनीहरू सबैको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ। प्रहरीले घटनाको थप विवरण संकलन गरिरहेको छ भने स्थानीय बासिन्दाहरूलाई मौसम प्रतिकूल हुँदा सतर्क रहन आग्रह गरिएको छ।



































प्रतिक्रिया दिनुहोस्