सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८२ असोज २६ गते आइतबार

कर्णाली, सुदूरपश्चिम र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका केही क्षेत्रहरूमा अत्यधिक वर्षा हुने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले आइतबार विशेष बुलेटिन जारी गर्दै कर्णाली, सुदूरपश्चिम, लुम्बिनी प्रदेशका पहाडी भू-भाग र तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरेको हो।

महाशाखाका अनुसार आज साँझदेखि सोमबारसम्म ती क्षेत्रमा २४ घण्टामा ५० मिलिमिटरदेखि २०० मिलिमिटरसम्म पानी पर्न सक्नेछ। यसरी हुने भारी तथा धेरै भारी वर्षाले बाढी, पहिरो, भू-क्षय, गेग्रान बहाव तथा तराईका क्षेत्रहरूमा डुबानको जोखिम निम्त्याउन सक्ने चेतावनी दिइएको छ।

साथै, ठूला तथा साना नदी, नाला र खोलाहरूमा पानीको सतह उच्च हुन सक्ने हुँदा नदी किनार आसपासका बासिन्दा सतर्क रहनुुपर्ने महाशाखाले जनाएको छ।

यस प्रकारको मौसमले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले पूर्वतयारीसहित सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२ असार २० गते शुक्रबार