सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ जेठ ५ गते मंगलबार

कुशेमा साक्षरतामुखी सडक नाटक



कुशे (थर्पु, भार्मा)। कुशे गाउँपालिका अन्तर्गत रहेका माध्यमिक विद्यालयहरूमा साक्षरताको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले सडक नाटकहरू प्रस्तुत भइरहेका छन्। गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आर्थिक सहयोगमा मधुरिमा कला केन्द्र, जाजरकोटको आयोजनामा उक्त नाटक सञ्चालन भइरहेको हो।

कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका १३ वटा माध्यमिक विद्यालयहरूमा नाटक प्रस्तुत गरिनेछ। नाटकको मुख्य उद्देश्य बालबालिकाहरूलाई शिक्षामा केन्द्रित गराउनु रहेको मधुरिमा कला केन्द्रले जनाएको छ।

नाटकमा अभिभावकहरूले छोराछोरीप्रति पर्याप्त ध्यान नदिने, विद्यार्थीहरू सामाजिक सञ्जालमा अत्यधिक व्यस्त रहने, कुलतमा फस्ने तथा अन्ततः वैदेशिक रोजगारीको लहरमा लाग्दा परिवारमा उत्पन्न हुने विघटन जस्ता सामाजिक समस्याहरूलाई प्रभावशाली ढंगले उजागर गरिएको छ।

दुर्गादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक हेमन्त बहादुर सिंहले मधुरिमा कला केन्द्रको प्रस्तुतिले अत्यन्त प्रभावशाली रूपमा जनचेतनामूलक सन्देश प्रवाह गरेको प्रतिक्रिया दिए। कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी र स्थानीयवासीहरूको बाक्लो उपस्थिति देखिएको थियो।

प्रकाशित मिति : २०८२ जेठ २२ गते बिहीबार