सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ जेठ ५ गते मंगलबार

कक्षा १२ को परीक्षा स्थगनबारे नैनसिंह महरको प्रतिक्रिया



काठमाडौं, वैशाख ९ । नेपाली कांग्रेसका महामन्त्री उम्मेदवार तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले कक्षा १२ को परीक्षा स्थगनसँग सम्बन्धित विषयमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले परीक्षाका लागि तयारीमा रहेका विद्यार्थीहरूलाई संयमता र धैर्य कायम राख्दै निरन्तर पढाइमा लाग्न आग्रह गरेका छन्।

“५ लाख बढीको संख्यामा परीक्षाका लागि तयार भएका तपाईंहरूलाई कुनै पनि घटनाबाट विचलित नभई आफ्नो परीक्षाको तयारी जारी राख्न अनुरोध गर्दछु,” महरले फेसबुकमार्फत लेखेका छन्।

सरकारप्रति अभिभावकसरहको भूमिका निर्वाह गर्न अपिल
नेता महरले सरकारलाई अभिभावकसरह जिम्मेवार बन्न र जटिल परिस्थितिमा गम्भीर निर्णय लिन आग्रह गरेका छन्। “सरकारलाई अभिभावकत्वको एहसास हुने गरी जटिल अवस्थाको ख्याल गरेर गम्भीरताका साथ निकास निकाल्न अनुरोध गर्दछु,” उनले उल्लेख गरेका छन्।

शिक्षक आन्दोलन र समाधानको विश्वास
परीक्षा स्थगनको पछाडि आन्दोलनरत शिक्षकहरूको भूमिका रहेकाले महरले शिक्षकमाथि पनि सन्देश दिएका छन्। उनले शिक्षकहरू परिस्थितिको गहिरो मूल्याङ्कन गर्ने विश्वास व्यक्त गर्दै भनेका छन्, “आन्दोलनरत शिक्षक गुरूहरूले परिस्थितिको आकलन गर्नु नै हुनेछ भन्ने विश्वास छ।”

सहमति र संवादको मार्गलाई जोड
नेता महरले सहमति, सहकार्य, एकता र वार्ता तथा संवादबाटै समस्याको समाधान खोज्न सकिनेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको बताएका छन्। उनले यस्तो संवेदनशील समयमा सबै पक्ष संयमित र उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन्।

शैक्षिक क्यालेन्डर नबिग्रियोस् भन्ने आग्रह
“कुनै पनि वहानामा शैक्षिक क्यालेन्डर बिग्रिनु हुँदैन — यो हाम्रो गम्भीर अनुरोध हो,” भनी उनले शिक्षा प्रणालीलाई अवरुद्ध हुन नदिन सबै पक्षको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति : २०८२ वैशाख १० गते बुधबार