सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ साउन १० गते आइतबार

सातौँ साधारणसभा तथा चौथो जिल्ला अधिवेशनबाट एम्नेस्टी जाजरकोटमा नयाँ नेतृत्व



जाजरकोट, एम्नेस्टी इन्टरनेशनल नेपाल जाजरकोट ग्रुप–७७ को सातौँ साधारणसभा तथा चौथो जिल्ला अधिवेशनबाट बालकुमार शर्मा सर्वसम्मत रूपमा संयोजकमा निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै जिल्लामा मानव अधिकारको संरक्षण, प्रवर्द्धन र नागरिक सचेतना अभिवृद्धिका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीको प्रमुख आतिथ्यता तथा जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार सोनी र एम्नेस्टी इन्टरनेशनल नेपालका केन्द्रीय प्रतिनिधि देवेन्द्र सेजुवालको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा मानव अधिकारका समसामयिक चुनौती र अवसरबारे व्यापक छलफल भएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक बुद्धिसागर पुरी, सशस्त्र प्रहरी बलका प्रतिनिधि, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रतिनिधि, नेपाली सेनाको मालिका ब्यारेकका सहायक सेनानी, नेपाल रेडक्रस सोसाइटी जाजरकोटका सभापति हरिबहादुर बस्नेत, निर्माण व्यवसायी शान्तबहादुर बस्नेत, शिक्षिका आशा कार्कीलगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै एम्नेस्टी इन्टरनेशनल नेपालका केन्द्रीय प्रतिनिधि देवेन्द्र सेजुवालले जाजरकोटमा मानव अधिकारका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै विशेषगरी जाजरकोट भूकम्प प्रभावितहरूको अधिकार, सोती घटनापछिको न्यायिक प्रक्रिया, गरिब तथा विपन्न समुदायका नागरिकको अधिकार संरक्षण र सामाजिक न्यायका पक्षमा निरन्तर पैरवी गर्नुपर्ने आवश्यकता औँल्याए। उनले मानव अधिकारका सवालमा राज्य, नागरिक समाज र स्थानीय समुदायबीच सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।

प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख कालीबहादुर खत्रीले मानव अधिकारको संरक्षण र प्रवर्द्धन लोकतान्त्रिक समाजको आधार भएको उल्लेख गर्दै स्थानीय सरकार, नागरिक समाज र मानव अधिकारकर्मीहरूबीचको सहकार्यले मात्रै नागरिकका मौलिक अधिकार सुनिश्चित गर्न सकिने बताए। उनले एम्नेस्टी इन्टरनेशनलले जाजरकोटमा विगतदेखि गर्दै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे।

कार्यक्रमका अध्यक्ष तथा निवर्तमान संयोजक खम्बजंग शाहले आफ्नो कार्यकालमा सबैको सहयोगले मानव अधिकारका क्षेत्रमा उल्लेखनीय पहल गर्न सफल भएको स्मरण गर्दै आगामी नेतृत्वलाई पूर्ण सहयोग रहने बताए। उनले मानव अधिकारको अभियान कुनै एक संस्था वा व्यक्तिको नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको धारणा व्यक्त गरे।

औपचारिक कार्यक्रमपछि बन्दसत्र सम्पन्न भएको थियो। बन्दसत्रले बालकुमार शर्माको संयोजकत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नवनिर्वाचित कार्यसमिति यसप्रकार रहेको छ :

संयोजक: बालकुमार शर्मा
उपसंयोजक: कल्पना मल्ल थापा
सचिव: मुकुन्द प्रसाद शर्मा
सहसचिवब :सारदा पुन मगर
कोषाध्यक्ष: लक्ष्मी खड्का
सदस्यहरू: खम्बजंग शाह, दिवाकर शर्मा, शान्तबहादुर बस्नेत र स्वेच्छा शाह

समितिले विधानअनुसार थप तीन सदस्य मनोनयन गर्ने व्यवस्था रहेको जनाएको छ।

निर्वाचन अधिकृत कृष्णराज श्रेष्ठले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। त्यसपछि निर्वाचन मण्डलका सदस्य ललितराज भण्डारी र लिला पौडेलले निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।

नवनिर्वाचित संयोजक बालकुमार शर्माले आगामी मंगलबार बस्ने पहिलो बैठकबाट तीन जना सदस्य मनोनयन गर्नुका साथै आगामी कार्ययोजना, मानव अधिकार प्रवर्द्धनका कार्यक्रम तथा संस्थागत सुदृढीकरणसम्बन्धी आवश्यक निर्णय गर्दै नयाँ कार्यकालको औपचारिक सुरुवात गरिने जानकारी दिए।मानव अधिकारको सम्मान, नागरिकको सहभागिता र स्थानीय सरकारसँगको सहकार्यलाई केन्द्रमा राख्दै नयाँ नेतृत्वले जाजरकोटमा अधिकारमुखी समाज निर्माणका लागि सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ असार २२ गते सोमबार