जाजरकोट, जेठ ५ । भेरी नगरपालिकाको आयोजना तथा युनिसेफ नेपालको सहयोग र समन्वयमा सञ्चालित दुई दिने `आपत कालिन अवस्थामा बाल संरक्षण तथा विपद्वमा बाल संरक्षण सम्बन्धी क्षमता अभिवृद्धि तालिम ´ सम्पन्न भएको छ । सदरमुकाम स्थित तल्लो थाप्ले होटल सिद्धपाइलामा जेठ ४ गतेदेखि ५ गतेसम्म सञ्चालन गरिएको उक्त तालिममा स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकाय तथा बाल क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्ती प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने उपप्रमुख सीता जैसी, युनिसेफ नेपालका केशव चालिसे, विपद् शाखा प्रमुख यज्ञनाथ गौतम, बाल कल्याण अधिकारी सन्तोष कुमार पुन, विभिन्न वडाका वडा अध्यक्षहरू तथा बाल क्लबका भाइबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
तालिमको सुरुवातमा सहभागीहरूलाई विपद्वमा बाल संरक्षण सम्बन्धी पूर्व – परीक्षण (Pre-test) गराइएको थियो। दुई दिनसम्म सञ्चालन भएको तालिममा विपद्को समयमा बाल संरक्षण, खोज तथा उद्धार कार्य, बाल हेल्पलाइनको प्रभावकारी प्रयोग, बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार स्थानीय तहको भूमिका तथा आपत्कालीन अवस्थामा बालबालिकाका लागि वैकल्पिक हेरचाह व्यवस्थापन लगायतका विभिन्ना बिषयमा प्रशिक्षण दिइएको थियो।
सहभागीहरूलाई सक्रिय र उत्साहित बनाउन हाजिरी जवाफ प्रतियोगिता समेत गरिएको थियो। साथै, सहभागीहरूलाई समूह विभाजन गरी विपद्को अवस्थामा बालबालिकाले सामना गर्ने जोखिम, तत्काल प्रतिक्रिया, समन्वय तथा दीर्घकालीन पुनर्स्थापना सम्बन्धी विषयमा समूहगत छलफल समेत गराइएको थियो। छलफल मार्फत सहभागीहरूले व्यवहारिक सुझाव तथा अनुभव आदानप्रदान गरेका थिए।
तालिमबाट प्राप्त ज्ञान र सीपले विद्यालय तथा समुदायस्तरमा बाल संरक्षण सम्बन्धी सचेतना वृद्धि हुने अपेक्षा गरिएको छ। विपद्को समयमा बालबालिकाहरू बढी जोखिममा पर्ने भएकाले स्थानीय तह र सरोकारवाला निकायलाई सचेत, जिम्मेवार र सक्षम बनाउन यस्तो तालिम प्रभावकारी भएको नगर प्रमुख चन्द्र प्रकाश घर्तीले बताउनुभयो।





























प्रतिक्रिया दिनुहोस्