सारदा मगर जाजरकोट । आज मेरो विशेष दिन ,जन्मदिन हरेक वर्ष आउँछ , तर मैले यो दिनलाई केवल रमाइलो गर्ने दिन होइन, आत्ममूल्यांकन गर्ने र नयाँ प्रतिबद्धता लिने दिन बनाएकी छु।म आफैँलाई सोध्छु – यो वर्ष म कति अघि बढेँ ? के के गरेँ ? के गर्न बाँकी छ ? मेरो सपना कति नजिक पुगेको छ ? यी प्रश्नहरूले कहिलेकाहीँ मन भारी बनाउँछन्, तर यही प्रश्नहरूले मलाई अझ सचेत बनाउँछन्।
कहिलेकाहीँ म थाक्छु, निराश हुन्छु। मनमा आउँछ -के म सफल हुन सक्छु ? तर त्यही बेला म मेरो जन्मदिन सम्झन्छु – त्यो दिन,जब मेरा बाबा -आमाले मलाई पहिलो पटक अँगालो हालेर भविष्यको आशा देख्नुभएको थियो। म जाजरकोट जस्तो ग्रामीण भेगको गाउँमा जन्मिएकी एक सामान्य छोरी हुँ तर उहाँहरूको माया प्रेरणा सल्लाह सुझाबले मलाई केही सपना देख्ने साहस दिनुभएको छ। आमा -बाबाबाट टाढा बस्दा कहिलेकाहीँ एक्लोपन महसुस हुन्छ, तर नजिकका आदरणीय व्यक्तित्वहरूले दिने सल्लाह र प्रेरणाले मलाई केही गर्नुपर्छ भन्ने शक्ति दिन्छ।
आजको समयमा सफलता प्राप्त गर्ने धेरै माध्यमहरु छन् – इन्टरनेट छ, किताब छन्, प्रेरणादायी व्यक्तित्वहरू छन् । प्रश्न एउटै छ – मैले अझ मेहनत किन नगर्ने ? मैले बुझ्दै गएकी छु लक्ष्यतर्फ पहिलो पाइला चाल्नु नै सफलता हो। बाटो कठिन हुन सक्छ, समय र परिस्थितिले रोक्न खोज्न सक्छन्, तर हरेक पटक फागुन २० ले मलाई सम्झाउँछ – म संघर्ष गर्न जन्मेकी हुँ।
हरेक जन्मदिनमा म आफूलाई फेरि सोध्छु -के म मेरो सपनातर्फ एक कदम अगाडि बढेकी छु ? यदि उत्तर हो छ भने म गर्व गर्छु, यदि छैन छ भने फेरि प्रयास गर्छु। मेरो बाबा -आमा मेरो जिउँदो भगवान हो, उहाँहरूको आशीर्वाद मेरो शक्ति हो, मेरो सपना मेरो जीवनको दिशा हो। त्यसैले मेरो जन्मदिन केवल उत्सव होइन -यो मेरो नयाँ प्रतिबद्धताको दिन हो।
समय साँच्चै बलवान् रहेछ । वर्षका ३६५ दिनमध्ये जस्तोसुकै दुःख–कष्ट भए पनि यो एक दिन भने मेरो लागि विशेष रहन्छ। सर्बप्रथम त मलाई जन्म दिने भगवान ,मेरा आमा – बुवा मेरो मातृभूमि, र हरेक सुख- दुःखमा साथ दिने आदरणीय ब्यक्तित्वहरु , साथीभाइ तथा शुभचिन्तकहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । आशा छ – जीवनभर तपाईंहरूको माया साथ र आशीर्वाद पाइरहनेछु ।





























प्रतिक्रिया दिनुहोस्