सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८२ चैत १९ गते बिहीबार

भारत–पाकिस्तान तनाव : ड्रोन आक्रमण, नेपालमा असरको सम्भावना



भारत र पाकिस्तानबीचको सम्बन्ध दशकौंपछि फेरि द्वन्द्वको चरम बिन्दुमा पुगेको छ।
एप्रिल २२ मा भारतको जम्मु–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु भएको थियो।
यसको जवाफस्वरूप भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई हमला गर्दै ‘अपरेसन सिन्दूर’ सञ्चालनमा ल्याएको छ।

भारतको आक्रमणमा महिला र बालबालिकासहित ३१ जना पाकिस्तानी नागरिक मारिएको पाकिस्तानले जनाएको छ।
त्यसैगरी, भारत–पाकिस्तान सीमामा भएको गोला आक्रमणमा कम्तीमा १५ भारतीय नागरिकको मृत्यु भएको भारतीय पक्षको भनाइ छ।

पाकिस्तानले जवाफी रूपमा ‘अपरेसन बुनयान मरसूस’ नाम दिएर भारतका तीनवटा सैन्य अड्डामाथि ३ देखि ४ सय ड्रोन प्रहार गरेको दाबी गरेको छ।
भारतीय अधिकारीहरूका अनुसार, तीमध्ये धेरै ड्रोन भारतीय सुरक्षाबलले खसाल्न सफल भएका छन्।
सामान्य नागरिकहरू पनि हताहत भइरहेका छन्।
जम्मु–कश्मीरका उपराज्यपाल मनोज सिन्हाले राज्यमा नयाँ बंकरहरू आवश्यक रहेको बताउँदै निर्माण प्रक्रिया अघि बढाइने बताएका छन्।

नेपालमा पर्न सक्ने असर र तयारीहरू

भारत–पाकिस्तान तनावले नेपालमा पनि असर पार्न सक्ने भन्दै तयारी र सचेतनाको खाँचो औँल्याइएको छ।
दिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरूलाई सतर्क रहन, सचेत रहन, र भारतीय निकायबाट जारी हुने निर्देशनहरू पालना गर्न आग्रह गरेको छ।

पाकिस्तानमा रहेका नेपाली नागरिक तथा विद्यार्थीहरूसँग निरन्तर सम्पर्कमा रहेको र आवश्यक परेमा सहयोगको पूर्ण प्रतिबद्धता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यता, नेपाल आयल निगमले इन्धन आपूर्तिमा हालसम्म कुनै समस्या नभएको स्पष्ट गर्दै अनावश्यक रूपमा ग्यास, पेट्रोल र डिजेलको अत्यधिक खरिद नगर्न सर्वसाधारणलाई अपिल गरेको छ।

सुरक्षाविद् र रणनीतिक विश्लेषकहरूका अनुसार, यो तनाव चर्किदै जाँदा खुला सिमानाबाट शरणार्थीको चाप, आपूर्ति शृंखलामा अवरोध, महँगी वृद्धि, र पर्यटन तथा सुरक्षामा नकारात्मक असर पर्न सक्ने सम्भावना रहेको छ।

प्रकाशित मिति : २०८२ वैशाख २७ गते शनिबार