सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८१ असोज २१ गते सोमवार

छत्रेश्वरीमा दर्शनार्थिको चहलपहल, त्रिवेणि तिर्थशाला धाममा सन्ध्याकालिन आरति गरिने



सल्यान । कर्णाकीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सल्यानको छत्रेश्वरी सतिपिठ (छायांक्षेत्र) मन्दिरमा सोमबार बिहानैदेखि दर्शनार्थीहरुको चहलपहल बढेको छ । सत्ययुगमा महादेवले सतिदेवीको मृत शरीरलाई बोकेर ब्रहमाण्डको भ्रमण गराउने क्रममा सतिदेवीका बाँकी रहेका सम्पूर्ण अंग छत्रेश्वरीमा पतन भएको श्रीस्वस्थानी ब्रतकथामा उल्लेख छ । साउन महिनाको अन्तिम सोमबार भएकाले विशेष गरेर व्रत बसेका महिलाहरु पुजा अर्चना र दर्शन अवलोकनका लागि मन्दिरमा पुगेका छन् ।

छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ स्थित छत्रेश्वरी सतिपिठमा बिहानै देखि सल्यान लगायत छिमेकी जिल्लाहरुबाट समेत भक्तजनहरुको आउने जाने क्रम जारी रहेको वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढाले जानकारी दिए ।

छत्रेश्वरीमा पिचाशेश्वर महादेब र छत्रेश्वरी भगवती प्रकट भएको किंवदन्ती छ । छत्रेश्वरी शतिपीठ नेपालकै पशु बली नचढ्ने मन्दिरको रुपमा प्रचलित छ । यहाँ बिशेश गरेर शिवरात्रीको बेला नेपालका विभिन्न जिल्लाबाट हजारौँको संख्यामा भक्तजनहरु आउने गर्नुहुन्छ ।

छत्रेश्वरी गाउँपलिका वडा नम्बर ६ स्थित राप्ती लोकमार्गको घोप्टे अमराईदेखि करिब चारसय मिटरको दूरीमा शारदा नदीको छेउँमा शंखमुल छ । यहाँ शंखपार्क पनि छ । शंखमूलदेखि करिब तीन किलोमीटर अगाडि पिचाशेस्वर महादेवको मन्दिर रहेको छ भने शंखमूलदेखि चार किलोमीटरको दूरीमा छत्रेश्वरी भगवती मन्दिर अवस्थीत छ ।

यसैविच सल्यानको त्रिवेणि गाउँपालिका स्थित त्रिवेणि तिर्थशाला धाममा सोमबार साझ आरति गरिने भएको छ ।सोमबार साँझ ६:३० बजे सन्ध्याकालिन आरती गरिने त्रिवेणी तिर्थशाला धाम संरक्षण समिति लुहामले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ साउन २८ गते सोमवार