सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८१ मङ्सिर २९ गते शनिवार

परराष्ट्रमा जुरेको महिला नेतृत्वको संयोग



काठमाडौँ । कुनै समय कूटनीतिक सेवामा पुरुषै पुरुष हुन्थे । अझ मूल नेतृत्वमा त महिला देखिनु टाढाको कुरा । तर केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार गठन भएपछि यसपटक नयाँ संयोग जुरेको छ-परराष्ट्र मन्त्रालयमा मन्त्री र सचिव दुवै महिला भएका छन् ।

कांग्रेस नेतृ आरजु राणाले सोमबारबाट परराष्ट्रमन्त्रीको कार्यभार सम्हालेकी छन् भने उक्त मन्त्रालयको सचिव सेवा लम्साल छिन् ।नेपालको कूटनीतिक इतिहासमा सहाना प्रधान, सुजाता कोइराला र विमला पौडेल राईपछि परराष्ट्र मन्त्री भन्ने राणा चौथो महिला हुन् ।

सचिव लम्साल भने मन्त्रालयको पहिलो सचिव हुन् । पाकिस्तानका लागि नेपालकी पूर्वराजदूत रहेकी लम्साललाई सरकारले गत मंसिरमा सचिवमा बढुवा गरेको थियो ।

यसलाई सुखद संयोग मान्न सकिन्छ, मन्त्रालयमा पहिलोपटक परराष्ट्रमन्त्री र परराष्ट्र सचिव दुवै महिला हुन पुगेको छ,’ मन्त्री राणालाई सोमबार मन्त्रालयमा स्वागत गर्दै सचिव लम्साले भनिन् ।

उता, परराष्ट्रमन्त्री राणाले सम्बोधनको क्रममा मन्त्रालयका महिला अधिकृतहरुलाई हेर्दा आफूलाई खुसी लागेको समेत बताइन् ।

पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी ६२ वर्षीय राणा तत्कालीन संविधान सभाको दुईपटक सदस्यसहित तीन पटक सांसद भइसकेकी छन् । आफ्ना श्रीमान् ५ पटक प्रधानमन्त्री भएपनि राणा भने पहिलोपटक मन्त्री भएकी हुन् । राणा प्रतिनिधि सभा अन्तर्गत कृषि, सहकारी र प्राकृतिक स्रोत समितिकी सभापति थिइन् ।

उनले संविधान निर्माणका दौरानमा महिला अधिकार, प्रजनन् अधिकार, नागरिकता र सम्पत्तिमा बराबर हकको अधिकार, महिलाविरुद्धको हिंसा अभियान, राजनीतिमा महिलाको प्रतिनिधित्व लगायत विषयमा काम गरेकी छन् । साथै, राणा संविधान लेखकका दौरान महिला संसदीय संयोजन समितिकी संयोजक समेत थिइन् । उनी लैंगिक समानता, सामाजिक कार्य र महिला तथा बालबालिकाको लागि नेपालमा विभिन्न गैरसरकारी संस्थासँग सम्बन्धि रहेर काम गरिसकेकी छन् ।

राणाको पहिचान नेपाली कांग्रेसको नेतृभन्दा पनि देउवा पत्नीकै रुपमा बढी चर्चामा हुन्थ्यो । तर यो पटक संसदीय निर्वाचनपछि कांग्रेसबाट समानुपातिकमा परेकी राणाले आफूलाई अलि फरक रुपमा प्रस्तुत गरिन् । उनी समितिको सभापति पनि भइन् । र, अहिले एमालेसँगको गठबन्धनमा परराष्ट्रमन्त्री बनिन् ।

राणाले मन्त्रालयमा सपथग्रहणपछि परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजानुपर्ने बताइन् । उनले इतिहासै पहिलो ठूलो जिम्मेवारी भएकोले यसलाई सही सदुपयोग गर्ने उल्लेख गरिन् । उनले नेपाल कसैको पराधीन भएर नबसेको भन्दै यही अवस्थालाई भावी पुस्तासम्म लैजान आवश्यक रहेको बताइन् । देशको समृद्धिमा परराष्ट्र मन्त्रालयको भूमिका उल्लेख्य हुने उल्लेख गर्दै नवनियुक्त मन्त्री राणाले दौत्य सम्बन्ध कायम रहेका देशहरुको सम्बन्धलाई अझै प्रभावकारी बनाउने प्रस्ट पारिन् ।

प्रकाशित मिति : २०८१ असार ३१ गते सोमवार