सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ जेठ २९ गते शुक्रबार

भेरी नगरपालिका -३ मा महिला पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्न



कल्पना मल्ल २७ जेष्ठ  जाजरकोट । भेरी नगरपालिकाको आर्थिक सहयोग तथा महिला अधिकार मञ्चको आयोजनामा भेरी नगरपालिका वडा नं- ३ का विभिन्न समूह तथा संस्थामा आबद्ध महिला पदाधिकारीहरूका लागि एक दिने क्षमता विकास तालिम सम्पन्न भएको छ।

वडा नं- ३ स्थित होटल शुभको सभाहलमा आयोजित तालिममा विभिन्न आमा समूह, सहकारी संस्था, सामुदायिक संगठन तथा सामाजिक क्षेत्रमा क्रियाशील ४७ जना महिलाको सहभागिता रहेको थियो। महिलाहरूको नेतृत्व क्षमता अभिवृद्धि, आत्मविश्वास विकास तथा संस्थागत भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ।

तालिम कार्यक्रमको उद्घाटन भेरी नगरपालिकाकी उपप्रमुख सीता जैशी ले कार्यक्रमको व्यानर वाचन गरी गर्नुभएको थियो। उद्घाटन सत्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शारदा शर्मा र भेरी नगरपालिका वडा ३ का कार्यवाहक वडा अध्यक्ष तेज विक्रम शाहले शुभकामना मन्तव्य व्यक्त गर्दै महिलाहरूको क्षमता विकास र नेतृत्व प्रवर्द्धनमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताएका थिए।

उद्घाटन सत्रपछि सञ्चालन गरिएको तालिममा सामाजिक अभियन्ता तथा पत्रकार बालकुमार शर्माले नेतृत्व विकास, नेतृत्व र नेताबीचको फरक, प्रभावकारी नेतृत्वका गुण, निर्णय प्रक्रियामा महिलाको सहभागिता तथा सामाजिक जिम्मेवारीलगायतका विषयमा सहजीकरण गर्नुभएको थियो। उहाँले विभिन्न व्यवहारिक उदाहरण र अनुभव प्रस्तुत गर्दै महिलाहरूलाई नेतृत्वदायी भूमिकामा सक्रिय हुन प्रेरित गर्नुभएको थियो।

त्यसैगरी अधिवक्ता तथा पूर्व शिक्षक रेखा शाहले महिलाको आत्मविकास, व्यक्तित्व विकास, प्रभावकारी सञ्चार सीप, आत्मविश्वास अभिवृद्धि तथा निर्णय क्षमता विकासका विषयमा सहजीकरण गर्नुभएको थियो। उहाँले महिलाहरूले आफ्नो क्षमता विकासका लागि स्वयं अग्रसर हुनुपर्नेमा जोड दिँदै निरन्तर सिकाइ र अभ्यासको महत्वबारे जानकारी गराउनुभएको थियो।

तालिममा सहभागी महिलाहरूले कार्यक्रमबाट नेतृत्व, व्यक्तित्व विकास तथा संस्थागत जिम्मेवारी निर्वाहसम्बन्धी महत्वपूर्ण ज्ञान हासिल गरेको प्रतिक्रिया दिएका छन्। सहभागीहरूले यस्ता क्षमता विकाससम्बन्धी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका छन्।

आयोजक महिला अधिकार मञ्चका अनुसार तालिमले महिला पदाधिकारीहरूको नेतृत्व क्षमता अभिवृद्धि, आत्मविश्वास वृद्धि तथा सामुदायिक विकासमा उनीहरूको सक्रिय सहभागिता बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८३ जेठ २८ गते बिहीबार