सारदा पुन मगर जाजरकोट । जाजरकोटमा महिला पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रमा उनीहरूको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने उद्देश्यले जाजरकोटमा आयोजित पाँचदिने ‘क्षमता विकास तथा विपद् पत्रकारिता तालिम’ सम्पन्न भएको छ।
भेरी नगरपालिकाको महिला,बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजना तथा नेपाल पत्रकार महासंघ जाजरकोट र सामुदायिक रेडियो प्रसारक संघ(अकोराब)कर्णाली प्रदेशको समन्वयमा जेठ १८ गतेदेखि २२ गतेसम्म खलङ्गामा तालिम सञ्चालन गरिएको हो । तालिमको समापन कार्यक्रम भेरी नगरपालिकाकी उप-प्रमुख सीता जैसीको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै उप-प्रमुख जैसीले सञ्चारकर्मीका लागि सूचना नै सबैभन्दा ठूलो शक्ति भएको बताउँदै महिला पत्रकारहरूको क्षमता विकासका लागि यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्दै सफल पत्रकारिताको शुभकामना समेत व्यक्त गर्दै तालिममा वरिष्ठ पत्रकार तथा प्रशिक्षक निर्मला शर्मा, कल्पना शर्मा तथा गैरसरकारी संस्था महासंघ (गैसस) का सहदेव बस्नेत सहितको टोलीले प्रशिक्षणमा सहजीकरण गरेका थियो। प्रशिक्षकहरूले विपद्को समयमा सुरक्षित र जिम्मेवार रिपोर्टिङ, समाचार तथा फिचर लेखन, लैङ्गिक संवेदनशील पत्रकारिता, सकारात्मक सोच तथा व्यावसायिक पत्रकारिताका विविध पक्षबारे प्रशिक्षण दिनुभएको थियो। तालिममा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यास समेत गराइएको थियो।
सहभागीहरूका अनुसार तालिमले विपद् पत्रकारिता,फिचर लेखन तथा लैङ्गिक संवेदनशील सञ्चार सम्बन्धी विषयमा नयाँ ज्ञान र व्यावहारिक सीप हासिल गर्न सहयोग पुगेको छ।जाजरकोट जस्तो विकट तथा विपद्को उच्च जोखिम रहेको क्षेत्रमा कार्यरत पत्रकारहरूका लागि यो तालिम निकै उपयोगी र प्रभावकारी भएको सहभागीहरूले बताएका छन्।
भेरी नगरपालिका महिला,बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी शारदा शर्माका अनुसार महिला पत्रकारहरूको क्षमता विकास, नेतृत्व अभिवृद्धि तथा विपद्को समयमा जिम्मेवार पत्रकारिता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त तालिममा जाजरकोट जिल्लाका विभिन्न अनलाइन, रेडियो तथा छापा सञ्चार माध्यममा कार्यरत १०जना महिला र ३ जना पुरुष गरी कुल १३ जना पत्रकारहरूको सहभागिता रहेको थियो।





























प्रतिक्रिया दिनुहोस्