जाजरकोट जेठ १८ । सञ्चार क्षेत्रमा कार्यरत महिला पत्रकारहरूको पेशागत दक्षता, नेतृत्व क्षमता तथा पत्रकारिता सम्बन्धी सीप विकास गर्ने उद्देश्यले जाजरकोटमा ५ दिने क्षमता विकास तालिम सुरु भएको छ ।
भेरी नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सोमबार देखि सुरु भएको हो । उक्त तालिम नेपाल पत्रकार महासंघ जाजरकोट तथा सामुदायिक रेडियो प्रसारक संघ अकोराब कर्णाली प्रदेशको सहकार्यमा सञ्चालन गरिएको यस तालिममा भेरी नगरपालिका तथा जिल्लाका अन्य स्थानीय तहमा क्रियाशील १० जना महिला र ३ जना पुरुष पत्रकार सहभागी छन्। कार्यक्रममा अकोराब कर्णाली प्रदेशका कोषाध्यक्ष बालकुमार शर्मा, पत्रकार दिप बहादुर घर्ती लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। तालिमको सुरुवातमा सहभागीहरूको अपेक्षा सङ्कलन गरिएको थियो। सहभागीहरूले डिजिटल पत्रकारिता, स्टोरी लेखन, फिचर समाचार लेखन तथा पत्रकारिताका अन्य व्यावहारिक विषयमा थप ज्ञान र सीप हासिल गर्ने अपेक्षा व्यक्त गरेका थिए।
जेठ १८ देखि २२ गतेसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रमको उद्घाटन भेरी नगरपालिका उप-प्रमुख सीता जैसीको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटनका क्रममा उहाँले सञ्चार क्षेत्रमा महिलाको प्रभावकारी सहभागिता बढाउन तथा पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो। तालिममा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरिरहनुभएको छ। पहिलो दिन उहाँले फिचर लेखन सम्बन्धी प्रशिक्षण दिँदै फिचरको अवधारणा, महत्त्व, विशेषता तथा विषयवस्तु छनोटका आधार बारे जानकारी गराउनुभयो।
सहभागीहरूका अनुसार सामान्य रूपमा देखिने तर ओझेलमा परेका, लुकाइएका वा चासोका नयाँ विषयवस्तु पहिचान गरी प्रभावकारी सामग्री तयार गर्ने विषयमा उपयोगी सिकाइ भएको छ। प्रशिक्षण अवधिभर समाचार लेखन, डिजिटल पत्रकारिता, लैङ्गिक संवेदनशील पत्रकारिता, नेतृत्व विकास तथा सञ्चार क्षेत्रमा महिला सहभागिता सुदृढीकरण सम्बन्धी विषय समेटिने महिला पत्रकारहरूको क्षमता अभिवृद्धि मार्फत सञ्चार क्षेत्रमा गुणस्तरीय, उत्तरदायी र समावेशी पत्रकारिता प्रवर्द्धन गर्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ।





























प्रतिक्रिया दिनुहोस्