सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ जेठ ५ गते मंगलबार

बालमैत्री वडा घाेषणाका लागि कार्यक्रम सञ्चालन



टुकमाया घर्ती,  जाजरकोट । बालमैत्री वडा घोषणा अभियानअन्तर्गत पहिलो कार्यक्रम सञ्चालन गरिएको छ । पाँचतारा युवा संरक्षण मञ्च र World Vision International नेपालको साझेदारीमा ‘शील्ड परियोजना’ मार्फत सञ्चालित “बालविवाह न्यूनीकरणमा विद्यार्थीको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो।
प्रतियोगितामा दिनेश रावल प्रथम स्थान हासिल गर्न सफल भए । उनले १३१ अंक अर्थात् ४३.३६ प्रतिशत प्राप्त गरेका थिए । त्यसैगरी, पारस रावल १३० अंक (४३.३३ प्रतिशत) सहित द्वितीय तथा करिना वली ९९ अंक (३३ प्रतिशत) सहित तृतीय स्थान हासिल गर्न सफल भइन् । प्रतियोगितामा ७ जना विद्यार्थी सहभागी रहेका थिए भने कार्यक्रममा १३० जना विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
यसै अवसरमा बालमैत्री स्थानीय शासनसम्बन्धी तीनदिने क्षमता अभिवृद्धि तालिम पनि सञ्चालन गरिएको थियो । कार्यक्रममा बाल संरक्षण अधिकृत उमानन्द के.सी.ले बालअधिकारअन्तर्गत बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार तथा सहभागिताको अधिकारबारे जानकारी दिँदै हिंसा रोक्न सके बालमैत्री वडा निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सकिने स्पष्ट पारे ।
शिक्षा अधिकृत गोरख चन्दले बालमैत्री स्थानीय शासनको अवधारणा, आवश्यकता तथा ५१ वटा सूचकबारे छलफल गरेका थिए । कार्यक्रमको सहजीकरण सामाजिक परिचालिका सविता वि.क.ले गरेकी थिइन् ।
कार्यक्रमकी सहभागी मनिषा वलीले बालबालिकाको संरक्षण गर्दै शिक्षा–दीक्षालाई गुणस्तरीय बनाउन अभिभावकहरूको पनि महत्वपूर्ण भूमिका रहने बताइन् ।
बालमैत्री तथा बालविवाह न्यूनीकरण अभियानअन्तर्गत गत वर्ष भएका २७ विवाहमध्ये २२ वटा बालविवाह रहेको तथ्य सार्वजनिक गरिएको थियो । बालविवाह सामाजिक रोग भएकाले यसको अन्त्यका लागि अभियान सञ्चालन गरिएको जनाइएको छ ।
वडामा कुनै पनि बालविवाह भएको पाइएमा स्थानीय सरकारबाट प्रदान गरिने सेवा–सुविधाबाट वञ्चित गरिने तथा कानुनअनुसार कडा कारबाही गरिने नलगाड नगरपालिका – ४ का वडा अध्यक्ष  बर्द्वी बहादुर पन्तले बताए ।
यस्ता कार्यक्रमहरूले बालबालिकाको व्यक्तित्व तथा क्षमता उजागर गर्न सहज हुने र पुरस्कारसँगै प्रदान गरिने शैक्षिक सामग्रीले शिक्षण सिकाइमा थप टेवा पुग्ने वडा स्तरीय बाल क्लबका अध्यक्ष दिनेश रावलले बताए ।
कार्यक्रममार्फत १५ सदस्यीय बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको छ । समितिमा बर्द्वीबहादुर पन्त, चन्द्रकला बस्नेत, शिव वली, नानीकला कामी, सुदाम गौतम, प्रमोद रावल, अस्मिता रावल, भक्तबहादुर वली, रमिता कुसारी, दिनेश रावल, मनिषा वली, सरिता वली, पारस गौतम, प्रेम रावल तथा वडा सचिव विरेन्द्र घर्ती सदस्य रहेका छन् ।

प्रकाशित मिति : २०८३ वैशाख २९ गते मंगलबार