सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ जेठ ५ गते मंगलबार

निर्धन उत्थान विकास बैंकद्वारा केन्द्र प्रमुख कार्यशाला गोष्ठी सम्पन्न, उत्कृष्ट केन्द्र र विद्यार्थी सम्मानित



जाजरकोट । निर्धन उत्थान विकास बैंक जाजरकोट शाखाको आयोजनामा केन्द्र प्रमुख कार्यशाला गोष्ठी जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएको छ। कार्यक्रमले समूह सशक्तीकरण, बचतको महत्व, कर्जा सदुपयोग तथा नेतृत्व विकास सम्बन्धी विषयमा सहभागीहरूलाई जानकारी प्रदान गर्नुका साथै उत्कृष्ट केन्द्र तथा विद्यार्थीलाई सम्मान समेत गरेको छ।

कार्यक्रम खलंगा मा सम्पन्न भएको हो। गोष्ठीको अध्यक्षता रामजानकी महिला स्वावलम्बन समूहकी अध्यक्ष लिला कुमारी पौडेलले गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि वडा नं. १० का वडा सदस्य पुतला सिंह रहनु भएको थियो। कार्यक्रममा विभिन्न महिला समूहका प्रतिनिधि, केन्द्र प्रमुख, बैंकका कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुतला सिंहले ग्रामीण क्षेत्रमा महिला सशक्तीकरण, स्वरोजगार तथा आर्थिक आत्मनिर्भरता निर्माणमा निर्धन उत्थान विकास बैंकले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले महिलाहरूलाई संगठित गरी बचत तथा लगानीको संस्कार विकास गराउनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै समूहमार्फत आर्थिक र सामाजिक रुपान्तरण सम्भव भएको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमका क्रममा उत्कृष्ट केन्द्र पुरस्कार समेत वितरण गरिएको थियो। बैंकको मूल्यांकनका आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने पुर्तिमकाडा महिला समूह, गोइरीगाउँ महिला समूह र पिपे महिला समूहलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। समूहहरूले नियमित बचत, कर्जा सदुपयोग, सदस्यबीच सहकार्य तथा समयमै बैंकिङ कारोबार सम्पन्न गरेका आधारमा उत्कृष्ट केन्द्रको रुपमा छनोट गरिएको बताइएको छ।

यस्तै कार्यक्रममा समूहका सदस्यहरूको छोरा–छोरीमध्ये कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो। शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले छात्र र छात्रालाई जनही १० हजार रुपैयाँ नगद छात्रवृत्ति वितरण गरिएको हो। यस अन्तर्गत दिपेश शाही र भवानी चन्दलाई नगदसहित सम्मान गरिएको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा विद्यार्थीहरूको उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा पनि अध्ययनलाई निरन्तरता दिन आग्रह गरिएको थियो।

कार्यशाला गोष्ठीमा सहभागी केन्द्र प्रमुख तथा सदस्यहरूलाई असल केन्द्र निर्माणका लागि अपनाउनुपर्ने उपायहरूबारे जानकारी गराइएको थियो। कार्यक्रममा केन्द्र प्रमुखको काम, कर्तव्य र जिम्मेवारीका विषयमा विस्तृत छलफल गरिएको थियो। साथै कर्जा सदुपयोग गर्दा हुने फाइदा, बचतको महत्व, नियमित बचतले पारिवारिक तथा सामाजिक जीवनमा पार्ने सकारात्मक प्रभाव र कर्जा दुरुपयोग हुँदा उत्पन्न हुने समस्या तथा बेफाइदाका विषयमा पनि सहभागीबीच अन्तरक्रियात्मक छलफल गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले ग्रामीण क्षेत्रमा अझै पनि केही व्यक्तिहरूले कर्जा सही उद्देश्यमा प्रयोग नगर्दा समस्या उत्पन्न हुने गरेको अनुभव सुनाएका थिए। उनीहरूले आयआर्जनमूलक क्षेत्रमा लगानी, साना उद्यम सञ्चालन तथा पारिवारिक आर्थिक व्यवस्थापनमा ध्यान दिन सके मात्रै कर्जाको वास्तविक उद्देश्य पूरा हुने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा निरज आचार्य को समेत उपस्थिति रहेको थियो। उहाँले बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्नुका साथै महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन निरन्तर काम गरिरहेको बताउनुभयो। उहाँले समूहमा आधारित वित्तीय कार्यक्रमले महिलाहरूको नेतृत्व विकास, सामाजिक सहभागिता र आर्थिक सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभयो।

त्यसैगरी कार्यक्रममा बैंकका प्रतिनिधिहरूले बचत संस्कारको विकासले भविष्य सुरक्षित बनाउन सहयोग पुग्ने बताएका थिए। उनीहरूले सानो–सानो बचतले पनि दीर्घकालीन रूपमा ठूलो उपलब्धि हासिल गर्न सकिने भन्दै नियमित बचत गर्न सहभागीहरूलाई प्रेरित गरेका थिए।

कार्यक्रमको सञ्चालन राडी शाखाका लेखापाल गगन शाहीले गर्नु भएको थियो भने स्वागत मन्तव्य जाजरकोट शाखाका लेखापाल गणेश परियारले राख्नु भएको थियो। कार्यक्रममा विभिन्न समूहका प्रतिनिधिसहित कुल ५५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रमले महिला समूहहरूबीच आपसी सहकार्य, अनुभव आदानप्रदान तथा वित्तीय सचेतना अभिवृद्धिमा सकारात्मक योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्। ग्रामीण तहमा महिला स्वावलम्बन, बचत तथा उत्पादनमूलक लगानीको संस्कार विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास समेत व्यक्त गरिएको छ।

प्रकाशित मिति : २०८३ वैशाख २७ गते आइतबार