बालकुमार शर्मा १५ बैशाख जाजरकोट, खलंगा । नेपाली कांग्रेसले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र पार्टीलाई आधार तहसम्म थप मजबुत बनाउने उद्देश्यसहित अघि सारेको ‘जरा अभियान’ भेरी नगरपालिकामा तीव्रताका साथ सञ्चालन गर्ने भएको छ। नगर सभापति सशिराम बुढाको नेतृत्वमा अभियानलाई प्रभावकारी बनाउने गरी वडा–वडामा कि–पर्सनको जिम्मेवारी तोकिएको छ। अभियानमार्फत पार्टीको संगठनात्मक संरचना बलियो बनाउने, सक्रिय सदस्यदेखि शुभेच्छुकसम्मलाई जोड्ने, नयाँ सदस्यता विस्तार गर्ने तथा जनतासँग प्रत्यक्ष सम्पर्क बढाउने लक्ष्य लिइएको बताइएको छ।
पार्टी स्रोतका अनुसार जरा अभियानलाई गाउँ–टोलसम्म पुर्याउन प्रत्येक वडामा जिम्मेवारीसहित कि–पर्सन परिचालन गरिएको छ। उनीहरूले वडा सभापतिसँग समन्वय गरेर सक्रिय सदस्य, पार्टी समर्थक तथा अन्य पार्टीका गतिविधिमा सहयोग गर्ने व्यक्तिहरूसम्म पुगेर कांग्रेसको संगठन निर्माण अभियानलाई व्यापक बनाउने जिम्मेवारी पाएका छन्। अभियानले पार्टीभित्रको आन्तरिक एकता, कार्यकर्ता परिचालन तथा जनस्तरसम्म पार्टीको उपस्थितिलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
नेपाली कांग्रेस भेरी नगर समितिले अभियानलाई केवल संगठन विस्तारको कार्यक्रम मात्र नभई पार्टीलाई जनताको घरदैलोमा पुर्याउने अभियानका रूपमा लिएको पार्टी सभापती बेदराज सिंहको भनाइ छ ।
नगर सभापति सशिराम बुढाले पार्टीलाई तल्लो तहसम्म पुनर्जीवित र सक्रिय बनाउने उद्देश्यले अभियान सुरु गरिएको बताउँदै संगठनलाई जीवन्त राख्न सबै तहका नेता तथा कार्यकर्ताको सक्रियता आवश्यक रहेको उल्लेख गरे।
उनका अनुसार जरा अभियानले कांग्रेसको मूल आधारलाई थप बलियो बनाउनेछ। “पार्टीको जरा जनतामा छ, त्यो जरालाई मजबुत बनाउन वडा–वडामा जिम्मेवारी बाँडेर अभियान अघि बढाइएको हो,” उनले बताए। उनले अभियानमार्फत पार्टीलाई आगामी दिनमा अझ सशक्त, संगठित र जनमुखी बनाउने विश्वास व्यक्त गरे।
यसैबीच आज खलंगामा नेपाली कांग्रेस भेरी नगर समितिको आयोजनामा पार्टी कार्यकर्ता तथा सहभागीहरूलाई प्रशिक्षण कार्यक्रम समेत सम्पन्न गरिएको छ। नगर सभापति सशिराम बुढाको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रूपमा गोपाल जी जङ्ग शाहको विशेष आतिथ्यता रहेको थियो भने पार्टी सभापति बेदराज सिंहको समेत बिशेष आतिथ्यता उपस्थिति रहेको थियो।
प्रशिक्षण कार्यक्रममा पार्टी संगठन निर्माण, अभियान सञ्चालनको रणनीति, सदस्यता विस्तार, जनसम्पर्क वृद्धि, पार्टीका नीति तथा सिद्धान्त र आगामी कार्यदिशाबारे विस्तृत छलफल भएको थियो ।
कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई जरा अभियानलाई कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो।
प्रमुख अतिथि गोपाल जी जङ्ग शाहले पार्टीको संगठनलाई बलियो बनाउन यस्ता अभियानको महत्वपूर्ण भूमिका रहने बताउँदै कांग्रेसलाई जनताको भरोसाको केन्द्रका रूपमा स्थापित गर्न कार्यकर्ताले गाउँ–गाउँ पुग्नुपर्ने बताए। उनले संगठन निर्माण केवल भाषणले नभई व्यवहारिक काम, निरन्तर सम्पर्क र जनताको दुःख–सुखमा साथ दिने संस्कारबाट सम्भव हुने धारणा राखे।
त्यसैगरी पार्टी सभापति बेदराज सिंहले जरा अभियानलाई पार्टी पुनर्जागरण अभियानका रूपमा लिन आग्रह गर्दै यसले संगठनलाई तल्लो तहसम्म गतिशील बनाउने बताए। उनले कांग्रेसलाई बलियो बनाउन कार्यकर्ताबीच एकता, अनुशासन र समर्पण आवश्यक रहेको उल्लेख गरे। “जरा बलियो भए रुख बलियो हुन्छ, त्यसैले पार्टीको जरा मजबुत बनाउन यो अभियान आवश्यक छ,” उनले बताए।
प्रशिक्षण कार्यक्रममा सहभागी कार्यकर्ताहरूले अभियानले पार्टीमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन्।
उनीहरूले वडा–वडामा जिम्मेवारी बाँडेर अभियान सञ्चालन गरिनु सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। अभियानले पुराना कार्यकर्तालाई सक्रिय बनाउनुका साथै नयाँ पुस्तालाई पनि पार्टीमा जोड्न मद्दत पुग्ने उनीहरूको भनाइ थियो।
भेरी नगरपालिकाभित्र नेपाली कांग्रेसको संगठनलाई थप चलायमान बनाउने उद्देश्यले ल्याइएको जरा अभियानले स्थानीय तहमा राजनीतिक सक्रियता बढाउने अपेक्षा गरिएको नेता सीता जैशीको भनाइ छ।
विशेषगरी वडा तहमा कि–पर्सन परिचालनसँगै पार्टीका कार्यक्रम, विचार र नीति जनस्तरसम्म पुर्याउन सहज हुने विश्वास गरिएको छ।
पार्टीभित्र पछिल्लो समय संगठन विस्तार र पुनर्संरचनालाई प्राथमिकतामा राखिएको सन्दर्भमा भेरी नगरपालिकामा सुरु भएको यो अभियानलाई अर्थपूर्ण रूपमा हेरिएको छ। अभियानले केवल पार्टी संरचना बलियो बनाउने मात्र नभई स्थानीय तहमा जनताको विश्वास जित्ने माध्यमका रूपमा समेत काम गर्ने विश्वास गरिएको छ।
कार्यक्रममा सहभागी नेताहरूले आगामी दिनमा जरा अभियानलाई अझ प्रभावकारी बनाउन टोल–टोलमा भेटघाट, अन्तरक्रिया, सदस्यता विस्तार अभियान तथा जनसम्पर्क कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिएका छन्। अभियानलाई निरन्तर र परिणाममुखी बनाउने गरी कार्ययोजना समेत तयार पारिएको छ।
स्थानीय राजनीतिक वृत्तमा पनि भेरी नगरपालिकामा सुरु गरिएको जरा अभियानलाई चासोका साथ हेरिएको छ। विशेषगरी आगामी राजनीतिक रणनीति, संगठन विस्तार तथा जनआधार सुदृढीकरणका हिसाबले अभियानलाई महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
नेपाली कांग्रेस भेरी नगर समितिले अभियानलाई सफल बनाउन सबै नेता, कार्यकर्ता, शुभेच्छुक तथा नागरिकको साथ र सहयोग आवश्यक रहेको जनाएको छ। अभियानले पार्टीलाई तल्लो तहदेखि माथिल्लो तहसम्म सुदृढ र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै नगर समितिले सबैलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।
इ
भेरी नगरपालिकामा सुरु भएको यो जरा अभियानले संगठनलाई नयाँ गति दिने, पार्टी कार्यकर्तामा उत्साह थप्ने तथा जनस्तरसम्म कांग्रेसको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको पार्टी प्रबक्ता तथा सह सचिब छबि पन्तको भनाइ छ ।
यस्तै नेतृत्वले अभियानलाई निरन्तरता दिँदै परिणाममुखी बनाउने प्रतिबद्धता सहित पार्टीमा लाग्ने र घरका सद्स्य विभिन्न पार्टीमा लाग्ने असह्योग गर्ने परिपाटीलाई बेलैमा विचार गर्नुपर्ने भएकोले सबै चनाखो हुनु पर्ने पार्टी सचिब तेज बिक्रम शाहले जोड दिय ।
अब यो अभियानले व्यवहारमा कति प्रभाव पार्छ भन्ने विषय आगामी दिनमा देखिने भए पनि सुरुवातलाई भने कांग्रेस वृत्तमा सकारात्मक र उत्साहजनक रूपमा हेरिएको छ।





























प्रतिक्रिया दिनुहोस्