सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ वैशाख ४ गते शुक्रबार

जाजरकोटमा पानीका मुहान संरक्षणका लागि अन्तरक्रिया, पुनर्भरण योजना तयार पार्ने पहल



लिला पौडेल जाजरकोट, बैशाख २  कर्णाली प्रदेश सरकार, प्रदेश वन निर्देशनालयको आयोजनामा जाजरकोट सदरमुकाम खलङ्गामा पानीका मुख्य मुहानको संरक्षण र पुनर्भरण योजना तयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

डिभिजन वन कार्यालय, जाजरकोटको सभाहलमा सम्पन्न कार्यक्रममा “कर्णाली प्रदेशका सदरमुकाममा आउने मुख्य मूलको श्रोत पहिचान गरी पुनर्भरण योजना तयारी” विषयमा छलफल गरिएको थियो। कार्यक्रममा प्रदेश वन निर्देशक शेर बहादुर श्रेष्ठ, वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत रेजिना आचार्य, भेरी नगरपालिका वडा नं। २ का अध्यक्ष, बृहत खानेपानी संस्थाका अध्यक्ष, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षहरू, भेरी नगरपालिका खानेपानी शाखाका प्रतिनिधि, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रतिनिधि तथा भेरी सब डिभिजन वन कार्यालय प्रमुखलगायत करिब २० जनाको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले बढ्दो खानेपानी संकटलाई मध्यनजर गर्दै मूल र मूलाधार ९स्रोत क्षेत्र० संरक्षणका लागि सामूहिक पहल आवश्यक रहेकोमा जोड दिएका थिए। सो क्रममा सबै सरोकारवालाको सहभागितामा संरक्षणमुखी कार्यक्रमहरूको छनौट समेत गरिएको आयोजकले जनाएको छ।

अन्तरक्रियामा बोल्दै प्रदेश वन निर्देशक शेर बहादुर श्रेष्ठले हाल देखिएको खानेपानी मुहानको सुक्दै जाने समस्या गम्भीर बन्दै गएको उल्लेख गर्दै यसको दीर्घकालीन समाधानका लागि नीतिगत तथा व्यवहारिक पहल आवश्यक रहेको बताए। उनले प्रदेश वन मन्त्रालयले मुहान संरक्षणका लागि विभिन्न नीति तथा कार्यक्रम अघि सारेको जानकारी पनि दिएका थिए।

त्यसैगरी, डिभिजनल वन अधिकृत दिपेश के।सी।ले सामुदायिक वनको कार्ययोजनामा मूल र मूलाधार संरक्षणका कार्यक्रम समावेश गर्नुपर्नेमा जोड दिँदै समुदायको सक्रिय सहभागितामा सञ्चालन गरिने संरक्षण कार्यक्रमहरू प्रभावकारी हुने धारणा व्यक्त गरे।

कार्यक्रमले जाजरकोट लगायत कर्णाली प्रदेशका सदरमुकाममा बढ्दै गएको खानेपानी संकट समाधानका लागि स्रोत संरक्षण र पुनर्भरणमा केन्द्रित ठोस योजना निर्माणको आवश्यकता औंल्याएको छ।

प्रकाशित मिति : २०८३ वैशाख ३ गते बिहीबार