जाजरकोट । जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूसँग निर्वाचन तथा आमसञ्चार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफल निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यले मतदाता शिक्षा तथा निर्वाचनसम्बन्धी सूचना प्रभावकारी ढंगले प्रवाह गर्न सञ्चारकर्मीहरूसँग छलफल गरिएको हो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष, उपाध्यक्ष, सल्लाहकार लगायत जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो। निर्वाचन अवधिभर सञ्चारमाध्यमले तथ्यमा आधारित समाचार संकलन, प्रकाशन तथा प्रसारण गर्नुपर्ने विषयमा विशेष जोड दिइएको थियो। मुख्य निर्वाचन अधिकृत दुर्गा प्रसाद खनालले निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सत्यतथ्यमा आधारित सूचना संकलन र प्रसारण गर्न आग्रह गर्नुभयो। उहाँले प्रत्येक क्षेत्रबाट हुने जिम्मेवार भूमिकाले निर्वाचनलाई पारदर्शी बनाउन मद्दत पुग्ने बताउनुभयो।

त्यसैगरी, जिल्ला निर्वाचन अधिकारी रामलाल प्याकुरेलले तथ्यपरक समाचार मार्फत आममतदातालाई सही सूचना प्रवाह गर्न पत्रकारहरूलाई अनुरोध गर्नुभयो। निर्वाचन प्रक्रियाबारे स्पष्ट, विश्वसनीय र सन्तुलित समाचार सम्प्रेषण गर्न सके मतदातामा विश्वास अभिवृद्धि हुने उहाँको भनाइ थियो।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आफूहरू जिम्मेवार ढंगले भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए। साथै आगामी दिनहरुमा पनि यस्तै समन्वय र सहकार्यलाई निरन्तरता दिँदै सकारात्मक सुझाव आदान–प्रदान गर्ने अपेक्षा व्यक्त गरेका थिए।





























प्रतिक्रिया दिनुहोस्