सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ साउन १२ गते मंगलबार

छेडागाड नगरपालिका–१२ मा बालमैत्री वडा घोषणा



जाजरकोट । छेडागाड नगरपालिकाको वडा नम्बर १२ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ वटा सूचक पूरा गरेपछि वडा नं – १२ लाई औपचारिक रूपमा बालमैत्री वडा घोषणा गरिएको हो।

नेपालको संविधान २०७२ को धारा ३९, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७२ तथा छेडागाड नगरपालिकाको बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७७ अनुसार आवश्यक मापदण्ड पूरा गर्दै वडा बालमैत्री घोषणा गरिएको हो।

बालमैत्री वडा घोषणा कार्यक्रम वडा अध्यक्ष प्रेम बहादुर खत्रीको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति जाजरकोटका सदस्य खड्क बहादुर वि।सीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।कार्यक्रममा प्रमुख अतिथि खडक बहादुर वि।सी।ले बालअधिकारको संरक्षण, प्रवर्द्धन र कार्यान्वयनमा स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउताउदै उहाँले बालमैत्री वडा घोषणाले दीगो विकास र समावेशी समाज निर्माणमा महत्वपूर्ण टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा वडा अध्यक्ष खत्रीले बालबालिकाको उज्ज्वल भविष्यका लागि गरिएको यो प्रयास अत्यन्तै सन्तोषजनक रहेको बताउनुभयो। उहाँले बाल संरक्षण, बाल बचाउ, स्वास्थ्य, शिक्षा तथा बाल सहभागिता जस्ता क्षेत्रमा पाँचतारा युवा संरक्षण मञ्च, सेव द चिल्ड्रेन तथा अन्य साझेदार संस्थाहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो।

खत्रीका अनुसार साविकका वडाहरूमा नाटक तथा जनचेतनामूलक अभियान सञ्चालन गरी बालअधिकारबारे चेतना फैलाइएको थियो। सबैको सल्लाह, सुझाव र सहकार्यका कारण आज बालमैत्री वडा घोषणा सम्भव भएको उहाँको भनाइ छ।

कार्यक्रममा “बालमैत्री स्थानीय शासन, बालअधिकारको सम्मान र कार्यान्वयन नै हाम्रो पहिचान हो” भन्ने सन्देशलाई आत्मसात गर्दै बालमैत्री अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रममा छेडागाड नगरपालिका प्रमुखका प्रतिनिधि, जिल्ला समन्वय समितिका सदस्य , राजनीतिक दल, साझेदार संस्थाका प्रतिनिधि, स्थानीय बासिन्दा, शिक्षक तथा विद्यार्थीहरूको  उल्लेखनीय उपस्थिति रहेको थियो। साथै पाँचतारा युवा संरक्षण मञ्च बाट कार्यक्रम निर्देशक टेक बहादुर सुनारको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८२ मंसिर २९ गते सोमबार