जाजरकोट साउन २२ । भारतको उत्तराखण्ड राज्यको उत्तरकाँसीस्थित हर्षिल क्षेत्रमा भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण जाजरकोटको कुशे गाउँपालिका–२ का १३ जना नेपाली सम्पर्कविहीन भएका छन्।
बाढी तथा पहिरोले पुर्याएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै कुशे गाउँपालिकाले एक शोक विज्ञप्ति जारी गरेको छ। गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा सम्पर्कविहीन नेपालीहरूको सकुशल उद्धार र खोजी कार्यमा नेपाल तथा भारत सरकारको ध्यानाकर्षण गराइएको उल्लेख छ।
“सम्पर्कविहीन भएकाहरूको यथाशीघ्र उद्धार र खोजी कार्यका लागि प्रदेश सरकार र संघीय सरकारमार्फत प्रभावकारी कदम चालियोस् भन्ने हाम्रो अपेक्षा छ,” विज्ञप्तिमा भनिएको छ। गएको केही दिनदेखिको अविरल वर्षाले पहाडी तथा नदी तटीय क्षेत्रमा बाढी र पहिरोको जोखिम अझै उच्च रहेको जनाउँदै गाउँपालिकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, सम्भावित क्षतिबाट बच्न पूर्वतयारी र सचेत रहनसमेत सबै वडाका बासिन्दालाई अनुरोध गरिएको छ।



































प्रतिक्रिया दिनुहोस्