सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ साउन ११ गते सोमबार

जाजरकोटमा ब्लड बैंक स्थापनाको अभियान, आर्थिक सहयोग संकलन सुरु



जाजरकोट ।  जाजरकोटमा पहिलो पटक रक्तसंचार केन्द्र (ब्लड बैंक) स्थापना गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले अभियान थालेको छ। जिल्ला अस्पतालमा गाइनो तथा सर्जिकल सेवा विस्तारसँगै रगतको अभावले उपचारमा समस्या भएकाले अभियान सुरु गरिएको हो।

५० शैयाको जिल्ला अस्पतालमा मासिक ८–१० पोका रगत आवश्यक पर्ने डा. दयाराम यादवले बताए। हाल अक्सिजन र रगतको अभावका कारण सुत्केरी महिलालगायतका बिरामीहरूलाई बाहिर रिफर गर्नुपरेको छ। अभियानको अगुवाइ गरिरहेका अध्यक्ष प्रेम वलीले नेपाल रेडक्रस, स्थानीय तह र अस्पतालसँग सहकार्य गरी ब्लड बैंक स्थापना गर्न आर्थिक सहयोग संकलन सुरु गरिएको बताए। चार दिनमा १ लाख १३ हजार ८ सय रुपैयाँ संकलन भइसकेको छ। वलीका अनुसार ५–८ लाख रुपैयाँ जुटेमा ब्लड बैंक सञ्चालनमा ल्याइनेछ।

नेपाल रेडक्रस जाजरकोटका सभापति हरिबहादुर बस्नेतका अनुसार, सरकारको कार्यविधिअनुसार ब्लड बैंक सञ्चालनका लागि तीन जनाको दरबन्दी आवश्यक हुन्छ ।अभियानमा ११ सदस्यीय समिति सक्रिय रहेको छ भने पत्रकार काली बहादुर नेपालीले पनि साथ दिएका छन्। २६ पटक रगतदान गरिसकेका वलीले सबैलाई अभियानमा साथ दिन अपिल गरेका छन्।

प्रकाशित मिति : २०८२ असार ३१ गते मंगलबार