जाजरकोट । सिबालय गाउँपालिका–३ स्थित श्री मेहेलटाकुरा टाँगाचुला सामुदायिक वन उपभोक्ता समूहले वस्ती व्यवस्थापन तथा धार्मिक स्थलमा प्रयोग हुने भाँडाकुँडा वितरण गरेको छ।
सामुदायिक स्वास्थ्य इकाई भवनमा आयोजित कार्यक्रममा विवाह, मृत्यु तथा सामाजिक भोजभतेरमा प्रयोग हुने भाँडाकुँडा तीनवटा टोलमा वितरण गरिएको हो।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सूर्य बहादुर रावत र डिभिजन वन कार्यालय जाजरकोटका डिभिजनल बन अधिकृत कृष्ण राम धिताल विशेष अतिथि रहेको थियो ।डिभिजन बन अधिकृत धितालले सामुदायिक वनको पहललाई नवीन र उदाहरणीय अभ्यास भन्दै प्रशंसा गरे।
उनले भने, सामुदायिक वनले यस्ता सामाजिक कार्य गर्नु समुदायप्रतिको उत्तरदायित्वको उत्कृष्ट नमुना काम हो। यसमा डिभिजन बन कार्यालयको निरन्तर साथ रहनेछ।
समुहका अध्यक्ष रावतले भने, वस्ती व्यवस्थापन, धार्मिक संरक्षण र पुर्ख्यौली सम्पत्तिको सदुपयोगका लागि यो कार्यक्रम ल्याइएको हो। हामी यस्ता सामाजिक र समावेशी काममा सधैं अग्रसर भइरहनेछौं।कार्यक्रममा स्थानीय पनि निकै उत्साहित देखिएका थिए।
स्थानीय दुर्गा बुढा रावतले भतेर, विहे, मरे–भागे जस्ता कार्यका लागि अत्यावश्यक भाँडाकुँडा घरमै पाउँदा खुसी लागेको बताइन ।
लोकबहादुर बुढाले पहिले दुई घण्टा हिँडेर भाँडा लिन जानुपर्ने अवस्था अब हटने भन्दै यस्तो सहजीकरणप्रति आभार व्यक्त गरे।
लाल बहादुर थापा र सीता वडक्रामीले नयाँ समितिले समुदायमा देखिने गरी राम्रो काम गरेको बताउँदै भविष्यमा पनि यस्तो अभियान निरन्तर चलिरहोस् भन्ने चाहना व्यक्त गरे।
यसैक्रममा सिबालय गाउँपालिका अध्यक्ष शेर बहादुर शाहीले कार्यक्रम महत्वपूर्ण र प्रशंसनीय रहेको बताउँदै, आफू कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको जानकारी दिएका छन्। कार्यक्रममा समुदायका अगुवा, उपभोक्ता, महिला सदस्य तथा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो।




































प्रतिक्रिया दिनुहोस्