सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ साउन ११ गते सोमबार

पोषण सूचक पूरा गर्दै भेरी–९ पोषणमैत्री घोषणा



जाजरकोट । भेरी नगरपालिका वडा नं–९ लाई औपचारिक रूपमा पोषणमैत्री वडा घोषणा गरिएको छ। नेपाल सरकारले तोकेको ४९ वटा पोषण सूचकहरू पूरा गरेपछि यो वडा जिल्लामै दोस्रो पोषणमैत्री वडा बन्न सफल भएको हो।

वडाका जनप्रतिनिधि, स्वास्थ्य संस्थाहरू, महिला समूह, समुदायका अगुवा तथा विभिन्न संघसंस्थाको समन्वय र सक्रियताले यो उपलब्धि हासिल भएको हो। वडाध्यक्ष हिराप्रसाद शर्माका अनुसार पोषण क्षेत्रमा देखिएका कमजोरीहरू पहिचान गर्दै निरन्तर अनुगमन, सचेतना कार्यक्रम सञ्चालन तथा सेवा पहुँच विस्तारसँगै परिणाममुखी कार्यहरू गरिएको थियो।

“बालबालिकाको वृद्धि विकास, गर्भवती तथा सुत्केरी महिलाको अवस्था सुधार, पोषणयुक्त खाना तथा सरसफाइको प्रवर्धन जस्ता विषयमा वडाले प्राथमिकता दिएको थियो,” शर्माले बताए।

पोषणमैत्री वडा बन्नका लागि आवश्यक सूचकहरूमा बालबालिकाको तौल र उचाइ अनुसारको अवस्था, नियमित खोप सेवा, स्तनपानको अवस्था, आयोडिनयुक्त नुनको प्रयोग, सरसफाइ, विद्यालयमा पोषण शिक्षा, कुपोषणको पहिचान र उपचार, किशोरी तथा महिलामा रगतको कमी न्यूनीकरणजस्ता विषयहरू समावेश छन्।

यो घोषणासँगै वडामा थप योजनाबद्ध रूपमा पोषण सुधारका कार्यक्रमहरूलाई निरन्तरता दिने योजना रहेको वडाध्यक्ष शर्माले जानकारी दिए। कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा, स्वास्थ्य शाखा, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो। यसअघि भेरी नगरपालिका–१३ कुदु पोषणमैत्री वडा घोषणा भइसकेको छ। वडा नं–९ को सफलताको सराहना गर्दै अन्य वडाहरूले पनि यही बाटो अवलम्बन गर्नुपर्ने सुझाव सरोकारवालाहरूले दिएका छन्।

प्रकाशित मिति : २०८२ असार २० गते शुक्रबार