सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ भदौ २७ गते शनिबार

भेरी नगरपालिकामा महिला नेतृत्व विकास तालिम सम्पन्न



सारदा पुन जाजरकोट, असार १५ ।जाजरकोटकोट भेरी नगरपालिकाका महिला जनप्रतिनिधि तथा सरोकारवालाका लागि आयोजना गरिएको ‘नेतृत्व सीप विकास प्रशिक्षण’ भव्य रूपमा सम्पन्न भएको छ। तालिम असार १२ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको हो।

कार्यक्रमको आयोजन भेरी नगरपालिकाको कार्यालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर द्वारा संयुक्त रूपमा गरिएको हो। तालिमका प्रशिक्षक आर सी लामिछानेले महिला सशक्तीकरण र नेतृत्व विकासका विभिन्न पक्षबारे  प्रशिक्षण दिनुभएको थियो। उहाँले महिलाले कसरी निर्णय प्रक्रियामा नेतृत्व लिन सकिन्छन भन्ने विषयमा सहभागीहरूलाई सक्रिय बनाउनु भयो। त्यस्तै अर्का प्रशिक्षक सन्तलाल श्रेष्ठले “बोल्ने कला, लेखन  हस्ताक्षरको महत्त्व” उपभोक्ता समितिको दायित्व तथा तलब भत्ताजस्ता व्यावहारिक विषयमा सहभागीहरूलाई जानकारी दिनुभयो। कार्यक्रमका अर्का प्रशिक्षक महेन्द्रकु मार सापकोटाले स्थानीय तहको बजेट तर्जुमा तथा कार्यान्वयन प्रक्रियाबारे प्रष्ट पार्दै सहभागीहरूमा बजेटप्रतिको बुझाइ प्रष्ट गराउनुभयो। बर्मा कुमारी आरतीले शारीरिक र मानसिक शान्ति, ध्यान, खानपान र निद्राको सन्तुलन जस्ता विषयमा अन्तरक्रिया गरे। आत्मचिन्तन र मानसिक सन्तुलन महिला नेतृत्वमा आवश्यक पर्ने आधार भएकोमा सहभागीहरूले सहमति जनाएका थिए।

टपेन्द्र प्रसाद रिजालले जीवनमा सकारात्मक सोच, तनावमुक्त जीवनशैली, व्यक्तिगत अनुशासन र पहिरनजस्ता विषयलाई रमाइलो तरिकाले प्रस्तुत गर्दै सहभागीतालाई सिकाइमै रमाउन प्रेरित गर्नुभयो। तालिममा सहभागी टीका ओली र सीता दवाडीले छोटो समयमै धेरै कुरा सिक्न पाएको अनुभव सुनाउँदै भनिन्, साना साना कुरा लाग्ने व्यवहारमा महत्वपूर्ण सीप सिक्न पायौं, जुन हाम्रो काममा प्रत्यक्ष उपयोगी हुनेछ।

कार्यक्रम प्रमुख अतिथि दलबहादुर घर्तीले महिलाहरूलाई अझ सशक्त बनाउँदै, नकारात्मक सोच हटाएर सकारात्मक व्यवहार र निर्णय क्षमतामा सुदृढ हुँदै अगाडि बढ्न सुझाव दिनुभयो।भेरी नगरपालिकाका उपमेयर सीता जैशीले महिलाका बजेट छुट्याएको र यस्ता सीपमूलक तथा व्यावसायिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै सहभागीहरूलाई सकारात्मक सोच र उद्यमशीलतामा लाग्न आग्रह गर्नुभयो।

यस अपैचारिक कार्यक्रम संचालकको भुमिका महिला तथा बालबालिका शाखाका शारदा शर्माले गर्नुभएको थियो । यस तालिममा भेरी नगरपालिकाका पूर्व उपमेयर भावना भण्डारी, १३ वटै वडाका महिला जनप्रतिनिधिहरू, अन्तरपार्टी महिला सञ्जाल, महिला अधिकारकर्मी, पत्रकार महिला , सम्बन्धित संस्थाका पदाधिकारीहरूले उपस्थिति जनाए ।कार्यक्रमको अन्त्यतिर झरी दुवालले घरेलु हिंसा र कानुनी उपायहरूबारे जानकारी दिँदै, सहभागी  वडा नं ७ की एक  महिलालाई व्यक्तिगत कानुनी सुझावसमेत दिइएको थियो।

प्रकाशित मिति : २०८२ असार १५ गते आइतबार