जाजरकोट, असार ११ । कुशे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममार्फत सञ्चार क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ।
गाउँपालिकाले ‘सञ्चार नीति २०८२’ तयार गरी, स्थानीय सञ्चारमाध्यमहरू—एफएम, अनलाइन, पत्रपत्रिका—सँग सहकार्य गरेर नागरिक हितका कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने योजना सार्वजनिक गरेको हो। सूचना सम्प्रेषण, जनचेतना अभिवृद्धि र समावेशी सूचनाको पहुँच विस्तार गर्न सञ्चारमाध्यमहरूसँग साझेदारी गरिने उल्लेख पालिकाको नीति कार्यक्रममा गरिएको छ।
यस्तै, सूचना प्रवाहमा संलग्न सञ्चार माध्यमहरूलाई लोककल्याणकारी विज्ञापन वितरणका लागि स्पष्ट मापदण्ड बनाइने छ। विज्ञापन प्रणालीलाई व्यवस्थित र बाध्यकारी बनाउने नीति पनि कार्यक्रममा समावेश गरिएको छ। यसले सञ्चार माध्यमको दिगो सञ्चालनमा टेवा पुग्ने पालिकाको विश्वास छ।गाउँपालिकाका अनुसार, सञ्चार क्षेत्रको सुदृढीकरणका लागि बजेट विनियोजन गरिने छ। साथै, सूचनाको अधिकार कार्यान्वयन र स्थानीय स्तरमा सूचना प्रवाहमा देखिएका समस्याहरू समाधान गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरिनेछ।
गाउँवासीको पहुँचमा सूचना पुर्याएर पारदर्शी, जवाफदेही र उत्तरदायी स्थानीय सरकार निर्माण गर्नु हाम्रो लक्ष्य हो, गाउँपालिका अध्यक्ष हरिसचन्द्र शर्माले बताए।




































प्रतिक्रिया दिनुहोस्